स्वतन्त्र भूतपूर्व सैनिक साकोसमा ७६ लाख ९ हजार मुनाफा
गैँडाकोट । स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा तथा ५ औँ नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ । गैँडाकोट २ स्थित होटल द नारायणी पार्टी प्यालेसमा कार्यक्रम भएको थियो । स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भूपाल सिंह छन्त्याल थापाले संस्था र सेयर सदस्यहरुलाई बढीभन्दा बढी लाभदायक हुने कार्यक्रमहरू अवलम्बन गर्दै सदस्य र समिति संस्थाप्रति पूर्ण उत्तरदायी हुँदै तत्कालिन, अल्पकालीन र दीर्घकालीन कार्यनीति निर्माण गरी सहकारीको मर्मअनुरुप सबै एक ढिक्का भएर अगाडि बढ्नेमा विश्वस्त रहेको बताउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले स्वतन्त्र भूतपूर्व सहकारी, भूतपूर्व सैनिक जनकल्याणकारी संस्था, भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूह लगायतका संस्थाले एकजुट भएर विभिन्न जनचेतनामूलक कार्य गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
संस्थाका सचिव वेदबन्धु रेग्मीको प्रतिवेदन अनुसार वासलातमा रहेको सेयर वोनस रकममा १८ प्रतिशत नबढ्ने गरी वितरण गरिएको र आगामी वर्ष पनि सोही बमोजिम हुने जनाइएको छ ।
कोषाध्यक्ष तमबहादुर क्षेत्रीको प्रतिवेदन अनुसार यस सहकारीको २ करोड २० लाख शेयर पुँजी रहेको छ । यस सहकारीमा करिब ३ हजार सेयर सदस्य रहेका छन् । संस्थाले यस वर्ष आयकर पछिको मुनाफा ७६ लाख ९ हजार १ रुपैँया गरेको छ ।
कार्यक्रमका विशिष्ट अतिथिका रुपमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका उपाध्यक्ष शान्ती अधिकारी, जिल्ला सैनिक बोर्ड भरतपुरका सुब्दार मेजर हनरी क्याप्टेन जुद्धबहादुर गुरुङ, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाका अध्यक्ष गुर बहादुर थापा, भुतपुर्व सैनिक जनकल्याणकारी महिला समुहका अध्यक्ष गितादेवी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथिका रुपमा नेपाल भूपू सैनिक नवकल्याणकारी संस्थाका अध्यक्ष वीरबहादुर शाही, भूपू सैनिक कल्याणकारी संस्था अमरापुरीका अध्यक्ष राम प्रसाद कंडेल, भुपू सैनिक महिला समूह हर्कपुरकी अध्यक्ष नमुनादेवी क्षेत्री, भुपू सैनिक महिला समूह अमरापुरीकी अध्यक्ष गोमा देवी अर्याल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दुर्गाप्रसाद पौडेल (शिव) ले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा भुतपुर्व सैनिक जनकल्याणकारी संस्था गैडाकोटको १७ औँ वार्षिक साधारण सभा र भुतपुर्व सैनिक जनकल्याणकारी महिला समूहको १५ औँ वार्षिक साधारण सभा पनि सम्पन्न गरिएको छ ।