पठन संस्कृति अभियानको आठौँ  शृंखलामा शुक्रबार उपकुलपति अर्याल आउने

२०८१ कार्तिक २९ बिहीबार १८:५४:०० मा प्रकाशित


गैँडाकोट । पठन संस्कृति अभियानको आठौँ शृङ्खलामा शुक्रबार पोखरा विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. प्रेमनारायण अर्याल गैँडाकोट आउनुहुने भएको छ । भोली शुक्रबार बिहान ११ बजे विजय विकास स्रोत केन्द्रको तालिम हलमा हुने कार्यक्रममा प्रमुख वक्ताको रुपमा प्रोफेसर डा. प्रेमनारायण अर्याल रहनुहुनेछ ।

त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्र संकायअन्तर्गत पाठ्यक्रम तथा मूल्याङ्कन विषयमा ३८ वर्ष प्राध्यापन गरी अवकाश लिनुभएका अर्याल अहिले पोखरा विश्वविद्यालयको उपकुलपति रहनुभएको छ । 

सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्दत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । यस अभियानले सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्दत पु¥याउने सापकोटाको विश्वास रहेको छ ।

पठन संस्कृति अभियानको आठौँ शृङखलामा पनि अघिल्ला शृङ्खलामा जस्तै पाठकहरूले आफूले पढेका पुस्तकमाथि चर्चा परिचर्चा गर्ने कार्यक्रम रहेको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो । गत वैशाख १५ गतेबाट पठन संस्कृति अभियान सुरु भएको थियो ।