आद्य जगद्गुरु श्रीनिम्बार्काचार्यको ५१२० औं जयन्तीमा गैँडाकोटमा नगर परिक्रमा

२०८१ कार्तिक २९ बिहीबार १८:४८:०० मा प्रकाशित

गैँडाकोट । वैष्णवधर्मका प्रथम उद्घोषक आद्य जगद्गुरु श्रीनिम्बार्काचार्यको ५१२० औं श्रीनिम्बार्क जयन्तीका अवसरमा शुक्रबार र शनिबार श्रीनिम्बार्क दर्शन केन्द्र गैंडाकोट १ मा विविध कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार भोली विहान ८ बजेदेखि साढे ९ बजेसम्म निम्बार्क सहस्रनाम पाठपारायण हुनेछ ।

यस्तै दिउँसो ११ बजेदेखि अपरान्ह ३ बजेसम्म वर्तमानमा वैष्णवधर्मको सान्दर्भिकता र जगद्गुरु श्रीनिम्बार्काचार्य विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक नारायण सिग्देलले विजय एफएमलाई जानकारी दिनुभयो ।  

यस्तै मंसिर १ गते शनिबार विहान ८ बजेदेखि १० बजेसम्म भगवान श्रीनिम्बार्काचार्यको झाँकीसहित शोभायात्राले नगर परिक्रममा गर्ने श्रीनिम्बार्क बैष्णव परिषद् नेपालका महासचिव तुलसीशरण उपाध्यायले जानकारी दिनुभयो । शनिबार साढे ११ बजेपछि दीक्षातत्त्वप्रकाश पुस्तक विमोचन र टिप्पणी प्रस्तुतको कार्यक्रम राखिएको छ । 

आद्य वैष्णवाचार्य जगद्गुरु श्रीनिम्बार्काचार्यसँग सम्बद्ध 
 

केही महत्त्वपूर्ण घटनाहरूको टिपोट


१) भगवान् श्रीकृष्णको दक्षिण करकमलमा विराजमान चक्रराज श्रीसुदर्शन दक्षिण भारतको तैैलङ्गदेश वैदूर्यपत्तन (मूगीपैठण) स्थित अरुण मुनि र जयन्ती देवीका आश्रममा प्रकट हुनुभएका श्रीनियमानन्द गोवद्र्धनको सन्निकट रहेको तपःस्थली निम्बग्राम मथुरा आएर देवर्षि नारदबाट वैष्णवदीक्षा लिई तपःसाधना गरेर सिद्ध हुनुभएपछि निम्बार्क हुनुभएको हो ।


२) नियमानन्दको तपःशक्ति परीक्षण गर्नका लागि नै गोवद्र्धन निम्बग्राम स्थित आश्रममा साँझ आएका दिवाभोजी सन्यासी (अतिथि) लाई भोजन गराउनकै निमित्त तपःसाधना सिद्ध श्रीनियमानन्दले रातिमा निम्ब (निमको) वृक्षमा सूर्य (अर्क) देखाई अभ्यागत अतिथिलाई भोजन गराउन सफल हुनुभएकाले उहाँको नाम निम्बार्काचार्य (निम्ब+अर्क+आचार्य) भएको हो ।


३) द्वापरान्तमा अवतीर्ण प्रथम वैष्णवाचार्य आद्य जगद्गुरु श्रीनिम्बार्काचार्यका वैदिक शिक्षागुरु ब्रह्मपुत्र देवर्षि नारदजी हुनुहुन्छ । उहाँ सबै धर्माचार्यहरूभन्दा पूर्ववर्ती आचार्य पनि हुनुहुन्छ । उहाँले नै सर्वप्रथम वेदादि सत्त्शास्त्र प्रतिपादित सर्वसमन्वयपरक स्वाभाविक भेदाभेद दर्शन र प्रेमलक्षणा पराभक्तिको शाश्वतधारा प्रवाहित गराउनु भएको हो ।

४) स्वाभाविक भेदाभेद दर्शनका प्रवर्तक श्रीनिम्बार्काचार्यद्वारा प्रतिपादित भेद–अभेद श्रुतिसम्मत सर्वसमन्वयपरक स्वाभाविक द्वैताद्वैत सिद्धान्त नै निम्बार्क दर्शन हो । यो दर्शन अन्य सबै दर्शनहरूलाई एकताको सूत्रमा आबद्ध गर्ने क्षमता भएको सर्वाङ्गपूर्ण दर्शन हो ।


५) यस वैष्णव सम्प्रदायमा एकमेवाद्वितीय, अनन्त सच्चिदानन्दस्वरूप, सर्वान्तर्यामी, सर्वनियन्ता, स्वतन्त्र–सत्ताश्रय, सर्वकारणकारण, सर्वाधारस्वरूप सर्वलक्षणसम्पन्न, आह्लादिनीशक्ति श्रीराधा– समन्वित भगवान् श्रीकृष्ण नै ब्रह्म, ईश्वर किंवा उपास्यतत्त्व मानिनुहुन्छ । 


६) सर्वशास्त्रमा पारङ्गत आचार्यले सर्वसमन्वपरक सर्वशास्त्र सारभूत स्वाभाविक भेदाभेद सिद्धान्त र कलियुगमा सरलतापूर्वक भगवत्प्राप्ति हुने भक्तिमार्गको विशेष प्रचार गर्नुभएको हो । यही दर्शन शास्त्रको हार्दभाव र प्रेमाभक्तिको अजस्रधाराको प्रवाहले जगदुपकृत भएको छ ।


७) वैष्णवले पवित्र आहार, वैष्णवचिन्हधारण, शालिग्रामपूजा, सद्ग्रन्थको स्वाध्याय र तुलसीको प्रयोग गर्दछन् । शरणागत भई भगवत्स्मरण गरिरहने वैष्णवलाई कर्मानुसार दण्ड÷पुरस्कार दिने कार्य यमराजले होइन, भगवान्ले स्वयं गर्नुहुन्छ । यही नै वैष्णवधर्मको विशेषता हो ।


८) नेपालमा प्रचलित वैष्णवहरूको दार्शनिक सिद्धान्त, उपासना पद्धति र वैष्णव धर्मानुरागीहरूका बीच परस्परमा भातृत्व, मित्रता, सद्भाव र एकता कायम गरी आध्यात्मिक लाभ उठाउन र सनातनधर्म संस्कृतिको संरक्षण गर्नमा निम्बार्क वैष्णवधर्म बहूपयोगी छ ।


९) निम्बार्क वैष्णवधर्मको सिद्धान्त र उपासना आदिको अध्ययन र अनुशीलनबाट लौकिक एवं आध्यत्मिक जीवनमा अधिक लाभ उठाउन र यथासम्भव मानव समाजलाई अहिंसा धर्मप्रति जागरुक बनाई समाजमा शान्ति र सद्भाव अभिवृद्धि गर्न सकिन्छ ।


१०) वैष्णवधर्म अहिंसावादी धर्म हो । ‘मा हिंस्यात् सर्वा भूतानि’ अर्थात् कुनै पनि प्राणीको हिंसा गर्न नहुने वैदिक उद्घोषलाई मूल बीज मानेर अहिंसावादको विशेष प्रचार गर्नुहुने प्रथम वैष्णवाचार्य पनि आद्य जगद्गुरु श्रीनिम्बार्काचार्य नै हुनुहुन्छ ।


११) सबै प्राणीमा एउटै परमात्मा श्रीकृष्णको निवास भएकाले वैष्णव सिद्धान्तमा हिंसा र घृणामूलक भेदभावको स्थान रहँदैन । अहिलेको योे अशान्त विश्वमा वैष्णवधर्म कति सान्दर्भिक र उपयोगी छ सबैले गम्भीर भएर विचार गर्नुपर्दछ । अस्तु !