अक्सफोर्ड कलेजलाई बेष्ट कलेजको अवार्ड
नवलपरासी पूर्व । नवलपरासी पूर्व गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज, नेपाल एजुकेशन अवार्ड अष्ट्रेलिया २०२४ बाट सम्मानित भएको छ । अष्ट्रेलियन नेसनल युनिभर्सिटीले आधिकारिता प्रदान गरेको अवार्ड कलेज रिडर्सले व्यवस्थापन गरेको हो । बेष्ट कलेजहरूलाई प्रदान गर्दै आएको अवार्डबाट यस वर्ष अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्ट सम्मानित भएको छ । अक्टोबर २३ तारिकका दिन अष्ट्रेलियामा भएको कार्यक्रममा अक्सफोर्ड कलेज उत्कृष्ट कलेजको रुपमा सम्मानित भएको कलेजका प्रिन्सिपल हरि भण्डारीले बताउनुभएको छ ।
पत्रकारसँग खुसी साटासाट कार्यक्रममा कलेजका प्रिन्सिपल भण्डारीले २३ वर्षमा शिक्षाका क्षेत्रमा कलेजले गरेको उपलब्धीकै कारण आज विश्वमाझ परिचित हुन सफल भएको बताउनुभयो । हालसम्म १५ बढी राष्ट्रिय र ४० भन्दा बढी अन्तर्राष्ट्रिय अवार्डहरुबाट कलेज सम्मानित भइसकेको प्रिन्सिपल भण्डारीले बताउनुभयो । कलेजले अहिले ब्याचलर अफ कम्प्युटर एप्लीकेशन, ब्याचलर अफ विजनेश एडमिनिष्ट्रेशन, ब्याचलर अफ होटल म्यानेजमेण्ट, ब्याचलर अफ इन्जिनियरिङ्ग डिग्री इन सिभिल, इलिक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङ लगायतका कोर्स सञ्चालन गरेको छ ।
बेष्ट एजुकेशन लिडर २०२४ बाट अक्सफोर्ड कलेजका प्रिन्सिपल ईन्जिनियर हरि भण्डारी सम्मानित हुनुभएको छ । सन् २००० मा अक्सफोर्ड कलेज स्थापना गरेर प्रोफेसर इन्जिनियर हरि भण्डारीले शिक्षाको क्षेत्रमा अक्सफोर्डको उचाईलाई बढाउँदै आउनुभएको छ । शिक्षाप्रति उहाँको अटल लगावले हजारौँ विद्यार्थीहरुको जीवनमा सकारात्मक प्रभाव पारेको र शैक्षिक उत्कृष्टता बढाएको भन्दै प्रोफेसर इन्जिनियर हरि भण्डारीलाई बेष्ट एजुकेशनल लिडर अफ द इयर को उपाधिबाट सम्मानित गरिएको कलेज रिडर्सका कार्यकारी निर्देशक जितेन्द्र घिमिरेले बताउनुभयो । शिक्षाबाट कोही पनि बञ्चित हुनुहुँदैन भन्ने अभिप्रायका साथ अक्सफोर्ड कलेजले हालसम्म ३ हजारबढीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै शिक्षाको पहुँचमा ल्याएको कलेजले जनाएको छ ।
कलेज रिडर्सका सिइओ जितेन्द्र घिमिरेले नेपालको शैक्षिक प्रणाली र नेपालका कलेजले गरेका अभ्यास विश्वका अरु क्षेत्रमा पनि फैलाउन आवश्यक रहेको हुँदा अष्ट्रेलियामा यस अवार्ड वितरण गरिएको जानकारी दिनुभयो । ५ सय बढी कलेजले आवेदन गरेको प्रतिष्पर्धामा ८२ कलेज छानिएका थिए सो मध्ये १४÷१५ कलेजहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको कलेज रिडर्सका कार्यकारी निर्देशक घिमिरेले बताउनुभएको छ ।