स्थानीय भन्छन् “रेडियो विश्वासिलो माध्यम बन्यो”

२०७८ भदौ ८ मंगलबार १६:५६:०० मा प्रकाशित


पवित्रा पराजुली
गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१.६ आजदेखि १८ औँ वर्षमा प्रवेश गरेको छ । रेडियोले अबको वर्ष जनस्वास्थ्यका सवालहरुलाई प्राथमिकतामा राख्न प्रतिवद्धता व्यक्त गरेको छ । कोभिडको कहरकाबीच रेडियो धेरैका लागि विश्वसनीय माध्यम बन्यो । स्वास्थ्य सन्देशका लागि सचेतनामूलक कार्यक्रम प्रसारणमा रहेको छ । कोभिडका कहरकाबीच रेडियो  समुदायका लागि भरपर्दो र विश्वसनिय माध्यम बनेको छ । 
गैँडाकोट २ की पार्वती आचार्यको विहान बेलुकाको साथी हो रेडियो । कोभिडको कहरका समयमा जनजिवन अस्तव्यस्त बन्दै थियो । कोभिडका बारेमा गाउँघरमा अनेक टिप्पणी सुनिन्थे । सहि के हो गलत के हो ? खुट्याउन मुश्किल पर्दथ्यो । पार्वती आचार्यलाई यति बेला रेडियो नै सहि सन्देश दिने साथी बनेको छ । कोभिडको कहरकाबीच स्वास्थ्य सन्देश र सूचनाका लागि रेडियो नै प्रभावकारी माध्यम भएको आचार्यको बुझाइ छ ।उनि भन्छिन् “कोरोना हाम्रा लागि नयाँ रोग थियो । यसको बारेमा अनेक कुरा सुनिथ्यो तर कसको कुरा सहि हो भन्ने थाहा थिएन । मेरा लागी सहि सुचना दिने माध्यम रेडियो बनेको छ ।” उनले थप्दै भनिन “कोरोना सामान्य रोघाखोकी त हो नी जस्तो लागेको थियो । तर रेडियोले कोरोना कस्तो खालको रोग हो कसरी बच्ने हो भन्ने बिषयमा धेरै कुरा सिकाएको छ । हामीलाई सकरात्मक बनाएको छ ।”  
कोभिड १९ के हो ? यो कस्तो खालको संक्रमण हो ? यस्ता बिषयमा जनसमुदाय दोधारमा रहेको समयमा सम्बन्धित चिकित्सक र बिज्ञसँग परामर्स लिने र जन समुदायलाई सत्यतथ्य सुचना प्रशारण गर्ने कर्तव्य रेडियोको हो । सर्वसाधारणलाई सचेत र सुरक्षित गराउने काम रेडियोले गरेको छ । रेडियो सबैको पहुँमा रहेकाले पनि यसको प्रसारण प्रभावकारी हुने गैँडाकोट १ का  गिरीराज उपाध्यायको बुझाइ छ ।उनि भन्छन् “ जुनसुकै समयमा मानिस पत्रिका पढ्दैन सबैले पढ्न पनि सक्दैनन् । सबै अनलाइनको पहुँचमा हुदैँनन् ।तर रेडियो सहज र सरल माध्यम हो । यसबाट धेरैले लाभ लिएका छन् । ” रेडियोले कोभिड बाट कसरी बच्ने र यो कस्तो रोग हो भन्ने बिषयमा धेरै स्वास्थ्य सामाग्री प्रशारण गरेको भएर पनि कोरोना कम फैलिएको उनको भनाई छ ।  
गैँडाकोटका लेखनाथ पराजुली पनि सूचना र समाचारका लागि रेडियो नै सुन्दछन् । स्थानीय समाचारका लागि पराजुलीले स्थानीय एफएम नै सुन्ने गर्दछन् । जनस्वास्थ्यको सवालमा रेडियोले निकै संवेदनशील भएर स्वास्थ्य सामाग्री प्रशारण गर्ने गरेको उनको भनाइ छ । 
कोरोनाको जोखीम अझै पनि उस्तै रहेकाले रेडियोले आगामी दिनमा अझै धेरै स्वास्थ्य सामाग्री प्रशारण मा जोड्दिनु पर्ने गैँडाकोट २ का केशव शर्माको सुझाव छ । अहिले पुनः कोभिडको संभावित संक्रमणको जोखिम बढ्दै छ । अहिलेको समयमा रेडियोको महत्त्वपूर्ण जिम्मेवारी भनेकै जनस्वास्थ्यका सन्दर्भमा सचेतना अपनाउनु हो । सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्यायले कोभिडका कहरकाबीच जनस्वास्थ्यका सवाललाई प्राथमिकतामा राखेको बताए । विजय एफएम सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष भूमिराज चापागाईंले जनस्वास्थ्यको विषयलाई वार्षिक कार्यक्रममा नै समेटेर अघि बढेको बताए । चापागाईंले भने “अहिले समुदायको चासो र सरोकारको विषय भनेको कोभिडका कारण उत्पन्न जनस्वास्थ्यका सवाल र कोभिका कारण समाजका बहुआयाममा परेको प्रभावका विषयमा आवाज उठाउनु हो ।” जनस्वास्थ्यका सवाललाई प्राथमिकतामा राखेर सञ्चारकर्म अघि बढाउने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।