गैँडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारीको साधारण सभा, खस्कदो दूध उत्पादन वृद्धी गर्ने योजना

२०८१ असोज ३० बुधबार १६:२२:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेड गैँडाकोटको ३१ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । 

गैँडाकोट ८ को कार्यालय भवनमा भएको सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहकारीले उत्पादनमुखी क्षेत्रमा काम गरे सदस्य र संस्था दुवैको हित हुने बताउनुभयो । कृषि तथा पशुपालनको क्षेत्रमा गैँडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारीले गरेको कामको प्रशंसा गर्दै रोजगार समेत अभिवृद्धि गरेको बताउनुभयो । 

गैँडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारीका अध्यक्ष अगन्धर सापकोटाले पशुपालन तथा दुग्ध उत्पादनमा ठूलो समस्या देखिएपनि संस्था घाटामा नरहेको बताउनुभयो । संस्थाद्वारा सञ्चालित बिक्रि डिपोबाट दुग्धजन्य पदार्थ उत्पादन एवं बिक्रि गर्न थालेपछि संस्थाले मुनाफा गर्न थालेको बताउनुभयो । गत वर्ष १ करोड ७२ लाख बढीको चोकर र दाना खरिद बिक्रि भएको उहाँले बताउनुभयो । उत्पादित वस्तु ब्राण्डिङ र बिक्रि डिपो विस्तारको लक्ष्या लिइएको बताउनुभयो । 

प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्दै सचिव रुद्रप्रसाद पौडेलले शुरुवाती अवस्थामा ६५ सय लिटर दूध संकलन गर्दै आएकोमा हाल ८०० लिटरमा सिमित हुन पुगेको बताउनुभयो । यद्यपी संस्थालाई मजबुत गराउन कच्चा दूधलाई विविधिकरण गरी दूधबाट उत्पादन हुने परिकार उत्पादन गर्ने, उत्पादित परिकारलाई बजार व्यवस्थापन गर्ने, स्थानीय बिक्रिमा वृद्धि गर्न संस्थाले किसानमुखी कार्यक्रम तर्जुमा गर्ने बताउनुभयो । कृषकहरुलाई सर्वसुलभ दाना, चोकर ढुटो उपलब्ध गराउँदै कृत्रिम गर्भधारण र घाँसको बीउ वितरणलाई निरन्तरता दिने उहाँले बताउनुभयो । 

कोषाध्यक्ष खुमनाथ पौडेलले ९ करोड ६२ लाख ८२ हजार ८ सय १२ रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । ४८ लाख ९६ हजार ८ सय सेयर पूँजी रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले आगामी वर्ष १२ लाख १३ हजार रुपैयाँ मुनाफा गर्ने अनुमान गरिएको बताउनुभयो ।  

लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै सदस्य शालिकराम सापकोटाले संस्थाको निरन्तर विकास सेयर सदस्य तथा दुग्ध उत्पादन कृषकहरुको हितमा कार्य गर्न सुझाव दिनुभयो ।  

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका केन्द्रीय लेखा संयोजक एवं संस्थाका सल्लाहकार इन्द्रराज ज्योती पौडेल, नेफ्स्कुनका सञ्चालक गोपालप्रसाद गौतम, जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलकप्रसाद पराजुली, सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष बाबुराम खनाल, गैँडाकोटका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, विनायक कृषि सहकारीका अध्यक्ष तिलकप्रसाद कँडेल, किसान सहकारीका अध्यक्ष भोजराज पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा जिल्ला सहकारी संघ नवलपुरका पूर्व अध्यक्ष केशवप्रसाद सापकोटा, सहकारीका संस्थापक अध्यक्ष देवीप्रसाद सापकोटा, पूर्व अध्यक्षहरु प्रेमप्रसाद सापकोटा, खगराज सापकोटा लगायतको उपस्थिति रहेको थियो । 

उपाध्यक्ष सूर्यप्रसाद पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा विभिन्न विधामा सम्मान एवं पुरस्कृत गरिएको थियो । सहकारीमा ५९८ सेयर सदस्य रहेको सहकारीका व्यवस्थापक चन्द्रमणी पौडेलले जानकारी दिनुभयो । 

गैँडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाले गैँडाकोट ८ मा केन्द्रीय कार्यालय कालिकाचोक, थुम्सी र भृकुटीचोकमा डिपो तथा काँग्रेसचोकमा बिक्रि केन्द्रमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।