जयश्री वनको २२ औँ साधारण सभा, वातावरणमैत्री बाल उद्यानलाई थप व्यवस्थित गर्ने
गैँडाकोट । गरीबि न्यूनिकरण, दिगो वन व्यवस्थापन, जैविक विविधताको संरक्षण लगायतका क्षेत्रमा काम गर्दै आएको जयश्री सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटले यस आर्थिक वर्षमा १८ प्रकारका विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
जयश्री सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटको २२ औँ वार्षिक साधारण सभामा गतवर्षको प्रगती प्रतिवेदन एवं आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित कार्यक्रम प्रस्तुत गदै वनका सचिव टेकबहादुर आलेले होमनाथ स्मृति वातावरणमैत्री बाल उद्यानमा खेल सामग्री थप तथा होमनाथ घिमिरेको स्मृति शालिक निर्माण गर्ने बताउनुभयो । साथै उक्त उद्यानसम्म जाने बाटो कालोपत्रेका लागि माग गर्ने, उद्यानमा नै वनदेवी मन्दिर निर्माण, रुखमाथी आकर्षक आधुनिक काठेघर निर्माण, उक्त पार्कमा मञ्च निर्माण गर्ने लगायत रहेका छन् । साथै वनले मासिक रुपमा नियमित कार्यक्रमसँगै विविध कार्यक्रम गर्ने योजना तय गरेको जानकारी दिनुभयो ।
जयश्री वनका कोषाध्यक्ष पार्वती ढकालले वन आर्थीक रुपमा सबल बन्दै गएको बताउनुभएको छ । गत आर्थीक वर्षमा वनले १ करोड २० लाख ७५ हजार ४ सय ३७ रुपैयाँ आम्दानी गर्न सफल भएको कोषाध्यक्ष ढकालले बताउनुभयो । वनको मुख्य आम्दानीको स्रोत काठदाउरा बिक्री वितरण रहेको उहाँले बताउनुभयो । साथै उहाँले होमनाथ स्मृति वातावरणमैत्री बाल उद्यानबाट पनि धेरैथोरै आम्दानी हनु थालेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा उद्यानमा टिकट बिक्रिबाट २ लाख ३१ हजार आम्दानी भएको बताउनुभयो । उहाँले यसवर्ष १ करोड ८४ लाख ८१ हजार ७०१ रुपैयाँ बराबरको अनुमानित आयव्यय विवरण सभामा पेश गर्नुभएको थियो ।
वनको २२ औँ वार्षिक साधारण सभामा बोल्दै वनका अध्यक्ष भिमबहादुर कुमालले जंगलको संरक्षण तथा सम्बद्र्धनका लागि प्रतिवद्ध रहेको बताउँदै सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । ‘हरियो वन नेपालको धन’ भन्ने नारा लिएर अगाडी बढेको बताउँदै उहाँले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्नका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले वन संरक्षणका लागि वृक्षरोपण, अग्निरेखा निर्माण, गरीबि निवारणका लागि विपन्न परिवारलाई सहयोग तथा पानीको मुहान संरक्षण, भू–क्षय नियन्त्रण लगायतको काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा लेखा समितिको प्रतिवेदन संयोजक राजेन्द्रराज घिमिरेले प्रस्तुत गर्नुभएको थियो । उहाँले गतवर्षभन्दा गरीबि न्यूनिकरणका कार्यक्रमहरु बढेको भएतापनि यसलाई उच्च प्राथमिकतामा राख्न सुझाब दिनुभयो । साथै होमनाथ स्मृति वातावरणमैत्री बाल उद्यानमा जयश्री खोलामा तटबन्धन गरी ताल निर्माण गर्न सुझाव दिनुभयो ।
गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले ३० वर्षअघि नाङ्गा देखिने डाँडाहरु हरियाली भएको बताउँदै हरभरा हुनुमा यहाँका स्थानीयको ठूलो योगदान रहेको बताउनुभयो । साथै उहाँले सामुदायिक वनहरुले उत्पादन मुखी कार्यक्रममा जोड दिनुपर्ने बताउनुभएको छ । त्यसका लागि सामुदायिक वनलाई नगरको तर्फबाट गर्ने सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा वनका संस्थापक अध्यक्ष एवं सल्लाहकार टोलनाथ घिमिरे, गैँडाकोट ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरे, सब डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिंह गुरुङ, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, नेपाली कांग्रेस नगर सभापति बद्री सापकोटा, नेकपा माओवादी केन्द्रका नगर कमिटी कार्यबाहक अध्यक्ष प्रकाश अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर उप सभापति विमल घिमिरे, जनता समाजवादी पार्टीका नगर अध्यक्ष भिमबहादुर विक, उपभोक्ताका तर्फबाट संगीता पण्डित, कृष्णप्रसाद पराजुली लगायतले वनले वातावरण संरक्षणमा महत्तवपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा पानीको मूहान संरक्षणमा पनि जोड दिन आग्रह गर्नुभएको छ ।
वनका उपाध्यक्ष ढाका सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, विभिन्न सामुदायिक वन तथा संघसंस्थाका प्रतिनिधि, टोलका प्रतिनिधि एवं उपभोक्ता लगायतको उपस्तिथि रहेको थियो ।
४९७.९६ हेक्टर क्षेत्रफलमा फैलिएको जयश्री सामुदायिक वनमा हाल २ हजार ८ सय उपभोक्ता रहेका छन् ।