नेकपा (माओवादी केन्द्र) गैँडाकोटद्वारा गैँडाकोट नगरपालिकामा ज्ञापनपत्र पेश
गैँडाकोट । नेकपा (माओवादी केन्द्र) गैँडाकोट नगर समितिले विभिन्न माग राख्दै गैँडाकोट नगरपालिकामा ज्ञापनपत्र पेश गरेको छ ।
नगरपालिकाबाट प्रदान गरिने सेवा गुणस्तरीय बनाउन, सुकुमबासी समस्या समाधानका लागि पहल गर्न, सार्वजनिक जग्गाको संरक्षण लागयतका माग राखेर आइतबार नगरप्रमुख मदनभक्त अधिकारीलाई ज्ञापन पत्र पेश गरेको हो ।
नेकपा (माओवादी केन्द्र) गैँडाकोटका कार्यबाहक अध्यक्ष प्रकाश अधिकारीले ज्ञापन पत्र पेश गर्दै पालिका भित्र रहेका अनियमिता बेथिति र विचौलियाको अन्त्य गरी सर्वसाधारण व्यक्तीले सहज सेवा पाउने वातावरण बनाउन माग गर्नुभयो । सुकुमबासी समस्या समाधानका लागि लालपूर्जा वितरण कार्य तत्काल शुरु गर्न एवं नगरपालिकामा रहेको सार्वजनिक सरकारी जग्गा संरक्षणको काम तीन महिना भित्र गरिसक्न आग्रह गर्नुभयो । ज्ञापन पत्रमा ३०÷४० वर्ष पुरानो बस्तीमा भू माफियाहरुले दर्ता गरी सुकुमवासी अव्यस्थितहरुलाई मानशिक यातना भोग्न बाध्य पारिएको उल्लेख गरिएको छ ।
ज्ञापन पत्र हस्तान्तरण पछि नगरप्रमुख मदनभक्त अधिकारीले नगरको सार्वजनिक जग्गा संरक्षणको काम प्रारम्भ भइसकेको जनाउँदै नगर तहबाट गर्न सकिने कामका लागि पहल गर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज धनप्रसाद सापकोटाले नगरमा देखिएका समस्या सामधान छिटो भन्दा छिटो गर्न आग्रह गर्दै आन्दोलन गर्नुपर्ने अवस्था नआओस भनि सचेत गराउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय नीति र जिल्ला समिति नवलपुरको निर्णय अनुसार सो ज्ञापन पत्र पेश गरेको पार्टीका गैँडाकोट नगर इन्चार्ज कृष्णसागर भट्टराईले जानकारी दिनुभयो ।
सो अवसरमा पार्टीका गण्डकी प्रदेश सल्लाहकार दुर्गादत्त ढुङ्गाना, बलराम चालिसे, जिल्ला संयोजक कृष्णप्रसाद शर्मा, अनेमसंघ क्रान्तिकारी जिल्ला संयोजक पार्वती आचार्य, नगर संयोजक सुधा रिमाल लगायत पार्टीका जिल्ला, नगर, वडा तहका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।