विजय सामुदायिकका क्याडेटको प्रदर्शन उत्कृष्ट– सहायक रथी महेशकुमार थापा
गैँडाकोट । श्री राष्ट्रिय सेवा दल (नेशनल क्याडेट क्रप्स) को ५० औँ ब्याजका जुनियर डिभिजन तालिममा सहभागी विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीहरुको तालिम अनुगमन तथा उत्प्रेरणात्मक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका क्याडेटको ५३ औँ दिनको तालिमपछि विजय सामुदायिक शिक्षा सदनको सभाहलमा शुक्रबार तालिम अनुगमन तथा उत्प्रेरणात्मक प्रवचन कार्यक्रम गरेको हो ।
श्री राष्ट्रिय सेवा दलका सहायक रथी, तालिम योजना तथा अनुगमन निर्देशक महेशकुमार थापाले क्याडेट छात्र/छात्राको तालिम अनुगमन गर्नुका साथै उत्प्रेरणात्मक प्रवचन दिनुभएको थियो । उहाँले विद्यार्थीले गरेको प्रदर्शन उत्कृष्ट रहेको बताउँदै अघिल्लो वर्ष जस्तै उत्कृष्ट प्रदर्शन गरी विद्यालयको गरिमा कायम राख्न सक्षम हुनुहोस् भनि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले देश र जनताको सेवामा लाग्न आग्रह गर्दै प्राप्त तालिमले विद्यार्थीहरुको भविष्य उज्जवल बन्ने विश्वास व्यक्त गर्नुभयो ।
गैँडाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम सापकोटाले अनुशासन जीवनमा महत्त्वपूर्ण रहेको बताउँदै बालबालिकालाई अनुशासन, आत्मरक्षा र समाजसँग घुलमिल हुन यस तालिमले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विजय सामुदायिक शिक्षा सदन सञ्चालक संस्था विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका उपाध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष परमेश आचार्यले ४९ औँ जुनियर डिभिजनमा जस्तै ५० औँ ब्याजमा पनि विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै विद्यार्थीको समग्र विकासका लागि विद्यालय प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै विद्यालय प्रधानाध्यापक चक्रधर पौडेलले विजय सामुदायिक शिक्षा सदनबाट ५० औँ ब्याजका लागि १८ जना छात्र र १८ जना छात्रा गरी ३६ क्याडेटहरू तालिममा सहभागी रहेको जानकारी दिनुभयो ।
विजय सामुदायिक शिक्षा सदन विद्यालय व्यवस्थापन समितिका कोषाध्यक्ष तथा गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी वासु शरण खड्का, गैँडाकोट ५ का वडा सदस्य द्रोणवन सन्न्यासी, वडा सदस्य तुलसीराम गौतम, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, खेलकुदका प्रतिनिधिहरु, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
विजय सामुदायिक शिक्षा सदन राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालय बर्दिबासमा सञ्चालित ४९ औँ जुनियर डिभिजनको पहिलो वार्षिक सामुहिक क्याम्पमा ९ वटा जिल्लाबाट सहभागीता जनाएका १६ वटा विद्यालयका ५७६ क्याडेटहरू मध्ये सर्वोत्कृष्ट विद्यालय हुन सफल भएको थियो ।
राष्ट्रिय सेवा दल मध्ये तालिम शिक्षालय हात्तिखोर ब्यारेकका प्रशिक्षकहरु प्रेम बानियाँ र राजकुमार शर्माले प्रशिक्षण दिइरहनुभएको छ ।