कैलालीका एक सय ३९ जनालाई सुरक्षित ठाउँमा सारियो, कर्णाली नदीले सतर्कता तह पार गर्‍याे

२०८१ भदौ २८ शुक्रबार १४:५२:०० मा प्रकाशित

काठमाण्डौ – लगातारको वर्षाले बाढीको जोखिममा परेका कैलालीका एक सय ३९ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका गरी एक सय ३९ जनालाई सुरक्षित ठाउँमा सारिएको हो ।

जानकी गाउँपालिका–४ का १५ परिवारका ३४ जना, जानकी गाउँपालिका–७ का १७ परिवारका ९४ जना र जोशीपुर गाउँपालिका–३ भितरियाका दुई परिवारको ११ जनालाई सुरक्षित ठाउँमा सारेकाे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

कैलालीका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । अरू ठाउँमा पनि पानी पर्नेक्रम रोकिएको छैन । कर्णाली नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ । कर्णाली नदीमा जलसतह खतराको तह पार गरेर १० दशमलव ९० मिटर पुगेको छ । कर्णाली नदीमा पानीको बहाव १० दशमलव ८० मिटर खतराको तह मानिन्छ ।

कर्णाली नदीले खतराको तह पार गरेपछि बर्दिया र कैलालीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान भनिएको छ । त्यस्तै महाकाली नदीको डडेलधुरा परिगाँउ जलमापन केन्द्र र कन्चनपुरको दोधारा चाँदनी पुल जलमापन केन्द्रमा जलसतह खतरा तह आसपास रहेको छ ।

डडेलधुरा र कञ्चनपुरको नदी तटीय क्षेत्रमा आजरातिसम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । लगातार भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने मुख्य सडक ठाउँ–ठाउँमा पहिरो खसेका कारण अवरुद्ध छन् । केही क्षेत्रमा बिजुली बत्ति पनि अवरुद्ध छ ।