जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा

२०८१ भदौ २८ शुक्रबार १४:३८:०० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलन उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

शुक्रबार काठमाडौँको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्नुहुँदै उहाँले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताउनुभएको हो ।

सरकारले क्यान्सर, किड्नीलगायतका प्राणघातक रोगका विरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका विरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिवद्धता थियो ।

स्वास्थ्यमन्त्री पौडेलले उपचारको अभावमा जलन रोगीहरुको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरुको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पार्नुभयो ।

मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिनुभयो ।