गैंडाकोटका जुनियर तथा युवा रेडक्रस समितिको क्षमता अभिवृद्धि कार्यक्रम
गैंडाकोट । नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसको अवसरमा गैंडाकोट आदर्श उपशाखाले मानवतालाई जीवित राखौं भन्ने आदर्श वाक्यलाई आत्मसाथ गरि मनाएको छ ।
गैंडाकोट वडा नं १-९ भित्र रहेका जुनियर तथा युवा रेडक्रस समितिको क्षमता अभिवृद्धि कार्यक्रम महेन्द्रस्मारक आधारभूत विद्यालयमा सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले जुनियर तथा युवाको क्षमता अभिवृद्धि कार्यक्रम आफैंमा महत्त्वपूर्ण भएको बताउनुभयो । आफू २०३३ सालदेखि रेडक्रस अभियानमा जुटेको अभिप्रेरणात्मक सन्दर्भसमेत उल्लेख गर्दै मानवीय सेवामा जुट्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा महेन्द्रस्मारक आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिराम सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम उपशाखा सभापति उमाकान्त सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । संस्थाका सचिव विष्णुप्रसाद सापकोटाको सहजीकरण रहेको सो कार्यक्रममा उपसचिव एवम् जुनियर/युवा विभाग प्रमुख दोलराज पाण्डेको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा जिल्ला शाखाका उपमन्त्री निराजनप्रसाद चौधरी, उपशाखा उपसचिव दोलराज पाण्डे र उपशाखा सदस्य गोविन्द रिमालले रेडक्रस अभियान र जुयुरेस सम्बन्धि छुट्टाछुट्टै प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा १५ विद्यालयका शिक्षक नायक, अध्यक्ष र सचिवहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रअ शिवराज काफ्ले, समाजसेवी अमृत श्रेष्ठ, खुमनाथ पौडेल, जितबहादुर श्रेष्ठलगायत उपशाखाका पदाधिकारीहरू माधवप्रसाद सिग्देल, शारदा ढकाल, खगेश्वर गौडेलको उपस्थिति रहेको थियो ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यका साथ, विश्वमा रेडक्रसको स्थापना भएको झन्डै १०० वर्ष पछी नेपालमा नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वरप्रसाद सिंहको अध्यक्षतामा तदर्थ समितिले नेपालमा रेडक्रसको स्थापना गरेको थियो । हाल नेपाल भरि जिल्ला शाखा, उपशाखा, जुनियर/युवा समितिका माध्यमबाट रेडक्रस गतिविधि सन्चालनमा रहेका छन् ।
गैंडाकोट आदर्श उपशाखाले जुनियर/युवा रेडक्रसको क्षमता अभिवृद्धि कार्यक्रम राखेर दिवस मनाएको जानकारी शाखाका सभापति उमाकान्त सापकोटाले दिनुभयो ।