हरिहर मन्दिरको तीजगीतमा भेडाबारी सामुदायिक वन प्रथम 

२०८१ भदौ २२ शनिबार ०७:०९:०० मा प्रकाशित


गैँडाकोट । श्री हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम गैँडाकोट ७ को आयोजनामा तीजगीत प्रतियोगितामा २० वटा समूहले सहभागिता जनाएका थिए । तीज गीत प्रतियोगितामा भेडाबारी सामुदायिक वन उपभोक्ता समूह प्रथम हुन सफल भएको छ । प्रतियोगितामा कण्टिनेण्टल ई. बो. स्कुल गैँडाकोट २ दोस्रो र हरिकिर्तन महिला समूह गैँडाकोट १ ले तृतीय स्थान हासिल गरेका छन् । गैँडाकोट ईंग्लीस स्कुल र जनक नमुना माध्यामिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन् । 


कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरिहर मन्दिरको कार्यक्रमले मौलिक तीजगीतलाई प्रवर्धन गर्ने विश्वास गर्नुभयो ।  यस्तै गैँडाकोट ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले महिलाहरुको शक्ति, सद्भाव, स्वतन्त्रता र वेदनाको पर्व तीजले सम्पूर्ण महिलाहरुको जीवनमा सकारात्मक उर्जा थप्ने बताउनुभयो । 


हरिहर मन्दिरका अध्यक्ष डिलाराम सापकोटाले मन्दिरले आगामी दिनमा धर्मसंस्कृति जगेर्नाका विभिन्न कार्यक्रम अघि बढाउने बताउनुभयो । धार्मिक तथा सांस्कृतिक पक्षको महत्वलाई नयाँ पुस्तामाझ उजागर गर्न तीजगीत प्रतियोगिता गरिएको मन्दिरका सहसचिव भानु सापकोटाले बताउनुभयो । सापकोटाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।