जिन्स पाइन्टमा किन हुन्छ सानो खल्ती?

२०८१ भदौ १६ आइतबार ०७:०५:०० मा प्रकाशित

काठमाडौं, सबैजसो जिन्स पाइन्टमा सानो खल्ती बनाइएको हुन्छ। आजभोलि आउने विभिन्न डिजाइनमा बाहेक अधिकांशमा यस्तो गोजी हुन्छ। विशेषगरी पुरूषहरूका जिन्स पाइन्टमा यस्तो खल्ती हुन्छ।

सामान्यतया हामी यसमा सिक्का, चाबी जस्ता साना सामान राख्छौं। वा, यो प्रयोगमै ल्याउँदैनौं।

तर, यो गोजी बनाउनुको खास प्रयोजन अर्कै थियो।

यो खासमा 'पकेट वाच (गोजी घडी)' राख्न बनाइएको हो।

पहिले पहिलेका मानिसहरू सिक्री भएको घडी बोक्थे। त्यही घडी राख्न सहज होस् भनेर पाइन्टमा सानो गोजी बनाइएको जिन्स बनाउने सबभन्दा पुरानो कम्पनी लिभाइजले आफ्नो ब्लगमा लेखेको छ।

उक्त ब्लगका अनुसार विश्वकै पहिलो 'ब्लु जिन्स' मा ४ गोजी थिएः एउटा पछाडि, दुइटा अगाडि र अगाडि नै एउटा सानो।

टुडे डटकमका अनुसार पहिले पहिले जिन्स विशेषगरी विभिन्न कारखाना, खानीहरूमा काम गर्ने कामदारले लगाउँथे। जिन्स बलियो हुने भएकाले उनीहरूका लागि उपयुक्त पनि मानिन्थ्यो। अनि ती कामदारले आफ्नो घडी राख्न यही गोजी प्रयोग गर्थे।

तर लिभाइजले आफ्नो ब्लगमा अहिले यसको प्रयोग र औचित्य दुवै पूर्ण परिवर्तन भएको बताएको छ। अचेल जिन्समा यो गोजी डिजाइनकै रूपमा रहँदै आएको छ।