जयश्री बालउद्यान : आकर्षणको केन्द्र बन्दै (भिडियो)

२०८१ भदौ १४ शुक्रबार १४:१३:०० मा प्रकाशित


गैँडाकोट । जयश्री सामुदायिक वन उपभोक्ता समूहले बालउद्यानलाई आकर्षणको केन्द्र बनाउन थालेको छ । गैँडाकोट ३ तात्रीवास गाउँ पछाडी जयश्री खोलाको किनारमा रहेको बालउद्यान पर्यटकीय स्थल बनेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैँडाकोट ५ काँग्रेस चोकबाट उत्तर तर्फ लागेपछि लखन चोक हुँदै जयश्री पुल तरेपछि तात्रीबास गाउँहुँदै जयश्री खोला किनारमा रहेको होमनाथ घिमिरे स्मृति वातावरण मैत्री बालउद्यान पुग्न सकिन्छ । वि.सं. २०७७ सालमा स्थापना भएको बालउद्यान पिकनिक स्पटका रुपमा समेत परिचित बन्दै गएको छ । बालबालिकाका लागि खेलसामग्री, मनोरम दृश्य, जयश्री खोलाको किनारमा बहने स्वच्छ हावा, ताल र जयश्री झरनाको समेत दृश्यावलोकन गर्न सकिने बालउद्यानमा पर्यटकीय क्षेत्र बन्न थालेको छ । जयश्री सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमालका अनुसार यस उद्यानमा मासिक रुपमा २ हजार बढीले अवलोकन गर्दछन् । अफ सिजनमा करिब २० देखि ३० हजारसम्म र सिजनमा ५० देखि ६० हजारसम्म बालउद्यानले आन्तरिक आय बढाएको अध्यक्ष कुमाल बताउनुहुन्छ । 


यस पार्कभित्र चुनपोले पाखामा ७ लाख ५० हजारको लागतमा बालमैत्री उद्यान निर्माण गरिएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय नवलपुरबाट प्राप्त ५ लाख, जनश्रमदानबाट साढे २ लाख गरि बाल उद्यान निर्माण गरिएको अध्यक्ष कुमालले जानकारी दिनुभयो । यस बाल उद्यानमा बालबालिकाका लागि पिङ, चिप्लेटी, खेलमैदानको व्यवस्था गरिएको छ । वनभोजका लागि पनि यो क्षेत्र उपयुक्त रहेको छ । यो पार्क विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने गरेको छ । यस पार्कको अवलोकनका लागि रु १० रुपैँयाको टिकट लिनुपर्ने छ । सामुदायिक वनहरुले वनपैदावर विक्रि बाहेक पनि आर्थिक उपार्जनको क्षेत्र खोज्नुपर्ने अभियान अन्तर्गत जयश्री सामुदायिक वन उपभोक्ता समूहले यस बालउद्यानको निर्माण तथा संरक्षण गर्दै आकर्षण बनाउँदै लगेको छ । यसै उद्यान भित्र करिब २ हजार मानिस अट्ने सुविधा सम्पन्न सभाहलको निर्माण गरिने अध्यक्ष भीमबहादुर कुमालले बताउनुभएको छ ।