सिपले सहज भयो जीवन
काठमाडौँ । २२ वर्षको उमेरमा दुर्घटनामा परेर मेरुदण्ड पक्षाघात भएपछि विनोद बुर्लाकोटीले ह्विलचियर को सहारा बिना हिँडडुल गर्न समेत सक्नुहुन्न । दुर्घटना भए लगत्तै उहाँलाई लागेको थियो, अब जीवन सकियो । तर जब सिलाई कटाइको तालिममा जोडिनु भयो, विनोदको सोचाई नै बदलियो ।
यो सिपले उहाँलाई काम मात्र दिएन कमाइ पनि दियो । जसले बाँच्ने आत्मविश्वास दरिलो बनाउँदै लग्यो ।
२५ वर्षका विनोदले काभ्रेको साँगास्थित स्पाइनल मन्जुरी संघ नेपालको पुनर्स्थापना केन्द्रमा, सिलाई कटाई सिक्न थालेको दुई महिना भयो । यो अवधिमा उहाँले भोटो, टिसर्ट, कुर्ता सुरुवाल र सामान्य झोला सिलाउन जानिसक्नु भएको छ । ‘सानी भान्जीका लागि भोटो र टिसर्ट सिलाएँ’ उहाँले सीआईएनसँग भन्नुभयो, ‘आमा र बहिनीको लागि कुर्ता सिलाएको छु, आमा धेरै खुसी हुनुभयो, आमा खुसी हुदाँ मन यसै फुरुङ्ग हुने रहेछ ।’
कुनै समय अब जिन्दगी नै सकियो भन्ने सोच्नुभएका विनोदलाई अहिले आगामी दिनमा सफल व्यवसायी बन्ने छ । कपडा सिलाउन सिकेपछि उहाँलाई आफ्नै गाउँ फर्किने चाहना छ ।
तालिममा आफू जस्तै साथीहरू भेटेपछि विनोद जस्तै अन्य सहभागीको पनि आत्मविश्वास बढेको छ ।
बाजुराका भीमबहादुर रोकाया २०७५ सालमा स्याउला काट्न जाँदा रुखबाट लड्नुभयो । मेरुदण्ड पक्षाघातका कारण शरीरसँगै आर्थिक अवस्था पनि कमजोर बन्दै गयो । सबै सम्भावना सकिएको बेला, उहाँका लागि सब थोक बनेर आईदियो, स्पाइनल इन्जुरी संघ नेपाल । त्यहाँबाट सिलाई कटाइको सीप सिकेपछि भीमबहादुरको जीवनले कोल्टे फेरेको छ ।
अहिले उहाँले आफ्नै व्यवसाय सञ्चालन गर्नुभएको छ । श्रीमान् श्रीमती मिलेर गरेको व्यवसाय राम्रो चलेको छ । ‘अहिले त आर्थिक अवस्था पनि राम्रो छ’, भीमबहादुर भन्नुहुन्छ, ‘सुरुमा सामान्य सिलाई कटाइको काम सिके । गर्दै जाँदा अब अझै राम्रो सिप चाहिन्छ भन्ने महसुस भयो र अहिले एडभान्स तालिम लिएको छु ।’
सिलाई कटाइको तालिम अब अरूलाई पनि सिकाउन मन लागेको उहाँ बताउनुहुन्छ ।
सिन्धुपाल्चोकका रामबहादुर तामाङलाई मेरुदण्ड पक्षाघात भएको १४ वर्ष भयो । उहाँ ह्विलचियरमै बसेर आफू जस्तै समस्या भएकाहरूलाई विभिन्न खेल, नाच्न, र जीवन जिउने कला सिकाउनु हुन्छ ।
दुर्घटनापछि मेरुदण्डमा समस्या भएर हिँडडुल गर्न नसक्ने भएकाहरू सीप सिकेपछि आत्मनिर्भर मात्र बनेका छैनन् धेरैका लागि प्रेरणाको स्रोत पनि बनेका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ६ लाख ४७ सात सय छ । जसमा पुरुष ५४ दशमलव २ र महिला ४५ दशमलव ८ प्रतिशत छन् । तर स्पाइनल मन्जुरी अर्थात् मेरुदण्ड पक्षाघातको समस्या भएकाहरूको तथ्याङ्क भने कतै पनि छैन ।
मेरुदण्ड पक्षाघात समूह नेपालले एक वर्षयता विभिन्न अस्पताल र स्थानीय तहसँगको समन्वयबाट १५ सय भन्दा बढी मेरुदण्ड पक्षाघात भएका व्यक्ति फेला पारेको छ । तीमध्ये करिब दुई सय जति विभिन्न काम र व्यवसायमा संलग्न छन् । जो समाजका लागि उदाहरणीय बनेका छन् ।
मेरुदण्ड पक्षाघात भएर अरूकै सहारामा हिँडडुल गर्नु पर्ने अवस्था भएर पनि, उनीहरूको सीप प्रतिको लगाव लोभलाग्दो छ । १४ वर्षदेखि सिलाई कटाइको सीप सिकाई रहनुभएकी सुनिता मानन्धर, मेरुदण्ड पक्षाघातको समस्या भएकाहरूको हातमा सीप र मनमा विश्वास भर्न पाएकोमा दङ्ग हुनुहुन्छ ।
मेरुदण्ड पक्षाघात भएकालाई समाजमा पुनर्स्थापना गराउन, विभिन्न सङ्घसंस्थाले पनि काम गरिहरेका छन् ।
एक वर्षयता तथ्याङ्क सङ्कलन गरिरहेको मेरुदण्ड पक्षाघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकाल स्पाइनल इन्जुरी भएकाहरूको देशभरबाट तथ्याङ्क सङ्कलन सँगै उनीहरूलाई सिपसँग जोड्न काम गरिरहेको बताउनुहुन्छ । साथै यसमा सरकारलाई पनि जिम्मेवार बनाउने गरि काम गरिरहेको उहाँको भनाई छ ।
स्पाइनल मन्जुरी अर्थात् मेरुदण्ड पक्षाघात भएकै कारण आफूलाई कमजोर ठानिरहेकाहरू जब सीपमा जोडिन्छन् तब उनीहरूको सोचाई र जीवन प्रतिको बुझाई नै परिवर्तन हुन्छ । तर त्यसका लागि सरकारले न त आवश्यक कार्यक्रम बनाउन सकेको छ, न त बजेट छुट्याउन नै । CIN