गैँडाकोटमा आत्महत्याका घटना डरलाग्दो, मनोसामाजिक परामर्शको खडेरी
गैँडाकोटमा १ वर्षको अवधिमा २६ जनाले आत्महत्या गरे

गैँडाकोट । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष ७ लाखभन्दा बढी मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गर्दछन् । १५ देखि २९ वर्ष उमेर समूहका युवाहरूको मृत्युको चौथो प्रमुख कारण आत्महत्या भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले निम्न तथा मध्यम आय भएका देशहरूमा ७७ प्रतिशत आत्महत्याको घटना हुने जनाएको थियो । गैँडाकोट नगरपालिकामा पनि आत्महत्या तथा दुरुत्साहन मुद्धाहरु बढ्दै गएका छन् । गैँडाकोट नगरपालिका क्षेत्रभित्र पनि यस्तो समस्या हरेक वर्ष बढ्दै गएको पाइएको छ ।
गैँडाकोट नगरपालिका क्षेत्र भित्र आत्महत्या तथा दुरुत्साहनका मुद्दा हरेक वर्ष बढ्दै गएका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटको तथ्याङ्क अनुसार प्रत्येक वर्ष यस्तो समस्या उकालो लागेको छ । आर्थिक वर्ष २०७८/७९ मा १२ जना, आर्थिक वर्ष २०७९/८० मा २२ जना र आर्थिक वर्ष २०८०/८१ मा २६ जनाले आत्महत्या गरेको तथ्याङ्क इलाका प्रहरी कार्यालयमा रहेको छ । इलाका प्रहरी कार्यालय गँैडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले गरीबी अशिक्षा पारिवारिक झै–झगडा लगायतका कारण आत्महत्याका घटना बढेको बताउनुभयो ।
‘‘गैँडाकोटमा १ वर्षको अवधिमा २६ जनाले आत्महत्या गरेको रेकर्ड इलाका प्रहरी कार्यालयसँग रहेको छ । ’’
आत्महत्यालाई मानसिक रोग भन्दा पनि पनि कमजोर मन भएकाहरूले चाल्ने कदम भएको दृष्टिकोण समाजमा व्याप्त हुनु समाजको ठूलो समस्या हो । मानिसहरुमा धैर्यता, बुझ्ने क्षमताको कमि र देखा सिकिको जीवनशैलीका कारण यस्ता समस्या सिर्जना भएको समाजशास्त्रका प्राध्यापक चिरञ्जिवि श्रेष्ठ बताउनुहुन्छ ।
बेरोजगारी, गरीबी, व्यापार व्यवसायमा हुने घाटा, वैदेशिक रोजगार र त्यसले पारेका पारिवारिक, आर्थिक, सामाजिक प्रभाव, महिलामाथि हुने हिंसा, कुलत, सामाजिक सञ्जालको बढ्दो प्रयोग, अनलाइन गेमको लत जस्ता कारणले आत्महत्याको दर बढाएको बताइन्छ । यस्ता कारणहरु पत्ता लगाइ न्यूनिकरणको बाटो तय गर्नुपर्ने मनोचिकित्सक गिरिराज भान्तना बताउनुहुन्छ । चिन्ता र तनावकै अवस्थामा पनि मनोसामाजिक परामर्शको आवश्यकता रहेको मनोचिकित्सक भान्तना बताउनुहुन्छ ।
गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले नगरभित्र बढ्दै गएको आत्महत्या जस्तो दुर्घटना न्यूनिकरणका लागि मनोसमाजिक परामर्शका लागि पालिका सचेत रहेको बताउनुभयो । उहाँले यस्ता समस्या समाधानका लागि सबैभन्दा ठूलो भूमिका अभिभावक र परिवारको हुने बताउनुभयो ।
आत्महत्या र दुरुत्साहनको मुद्दा गैँडाकोट क्षेत्रमा मात्र नभइ देशभरिकै साझा समस्या हो । यसको न्यूनिकरणका लागि विद्यालयमा असल संस्कार सहितको शिक्षा, आशा र विश्वास जगाउने अभिभावकत्व, नैतिकता उन्मुख समाज निर्माण गर्न सके आफै स्वनियन्त्रित हुँदै जानेछ ।