अविश्रान्त लखरलखरको राप
समीक्षक उदय अधिकारीसँग पठन संस्कृति अभियानको दोस्रो श्रृंखलामा विजय विकास स्रोत केन्द्रको प्रेक्षालयमा भएको छोटो कुराकानीले कता–कता मेरो मथिङ्गलमा अब केही चकचक गर्नु पर्छ भन्ने लाग्यो नै । के मैंले उहाँले भनेजस्तो समय व्यवस्थापन गर्न सकुँला र ? लाग्यो गर्नै पर्छ, उहाँको दुईवटा सर्त थिए । एउटा ‘फेसिङ अ लिटल भोलकानो’ र खगेन्द्र संग्रौलाको ‘आफू आफैतिर फर्केर’ अध्ययन गर्नुपर्ने र अर्को लामो समय सञ्चारकर्मीको रुपमा कर्म गर्दैगर्दा बिर्सनै नसकिने अन्तर्वार्ताहरुको संगालो तयारी गर्नु पर्ने । उहाँका सुझाब एक तमासले सुनेपछि हुन्न भनेर मैंले भन्न सकिन तर मनले भने समय व्यवस्थापन सहज छैन भन्ने महसुस गरी नै रह्यो । यसै बिचमा उहाँले प्रश्नोत्तरात्मक शैलीमा तयार पार्नुभएको ‘अविश्रान्त लखर लखर’ को हल्लाले सामाजिक सञ्जाल तातिसकेको थियो । यसैउसले पनि ‘आफू आफैतिर फर्केर’ अध्ययन गर्ने मेसो जुराएँ । यति छिटै अध्ययन थाल्नुको पछाडि पनि उदय सरको प्रत्येक दिनको पहिलो शुभप्रभाती एसएमएस र त्योसँगै गरिने पुच्छ्रे्र प्रश्नले धरै दिएन भन्नु पर्छ । उहाँले हरेक दिन जसो मलाई प्रेरित गरि नै रहनु भयो ।
कान्तिपुर दैनिकमा आफ्नो जीवनको लामो भाग चर्चित स्तम्भकारका रुपमा परिचित खगेन्द्र संग्रौला मलाई त्यति मन पर्ने लेखक थिएनन् । हुन पनि हो, क्रान्तिकारी चेत र उग्र कम्युनिष्ट विचारधारालाई प्रसय दिने उनी र समाजवादी चिन्तन र आदर्शलाई आत्मसाथ गर्ने म बिचमा धेरै असमानता रहेको भेटेको थिएँ । त्यसैले पनि हुनुपर्छ । कता कता मभित्रको म पात्रले खगेन्द्र संग्रौलालाई नजिकबाट नियाल्न खोजेकै थिएन । तर पनि यस क्षेत्रकै उत्कृष्ट समीक्षक दाजुले गरेको आग्रहलाई स्वीकार गर्ने मनसुवा पलायो । फलतः उक्त पुस्तक अध्ययन गर्ने सुअवसर प्राप्त भै छाड्यो । त्यसको अध्ययन सक्ने वित्तिकै अविश्रान्त लखर लखरको ढोका खोल्न मलाई मन लाग्यो । भर्खरै उक्त पुस्तक पढिसकेका मित्र आनन्द चालिसेसँग किताब मागी पठाएँ । ‘आफू आफैतिर फर्केर’ पढिसकेपछि अविश्रान्त लखर लखर बुझ्न सहज भएको महसुस मैंले गरेँं । दुवै कृति खगेन्द्र संग्रौलाको जीवनीवृत्तमा आधारित भएको मैंले पाएँ । तरपनि एक अध्ययनशील साधक, अनुसन्धाता वा लेखक सबैले पढ्न, बुझ्न र जान्न पर्ने व्यक्ति उनी रहेछन् भन्ने मेरो अध्ययनको निष्कर्ष हो ।
१५७ पृष्ठमा संरचित, २५ ओटा गहन प्रश्नोत्तरमा संरचित संग्रौलाको जीवनवृत्तमा आधारित ‘अविश्रान्त लखर लखर’ को सिर्जनाको श्रीगणेशाय गर्ने प्रेरणा उदयजीलाई खगेन ब्रो को चितवन बसाइका दुई साँझले उत्पन्न गराएको प्रष्ट हुन्छ । त्यसो त समीक्षक अधिकारी र खगेन्द्र संग्रौलाको भेट यस अघि पनि पटक पटक भएको सन्दर्भ उल्लेखित छ । स्रष्टा उज्ज्वल अजितले खगेनजीको जीवनीमा आधारित ठुलो कृति ७ वर्ष लगाएर तयार पार्नुभएको थाहा पाएपछि उहाँको अन्तरइच्छा जागृत गराउने साधन प्राप्त भएजस्तै देखिन्छ ।
लेखकद्वारा सोधिएका सबै प्रश्नको उत्तर अत्यन्तै विश्वसनीय छन् । पात्र स्वयम हुँदाहुँदै पनि खगेन ब्रोले कहिँकतै झुटको खेती गरेकि भन्नु पर्ने अवस्था छैन । उनी जे देख्छन् त्यही लेख्छन् र जे लेख्छन् त्यही भोगेकै हुन्छन् भन्ने सहजै आभाष हुन्छ । लेखकले गोर्कीसँग कसरी भेट भो भन्ने प्रसङ्गमा उनी भन्छन् गोर्कीको आमा कृति हिन्दुको गीता, मुस्लिमको कुरान र इसाइको बाइवल भएजस्तै लाल युवाहरुको पवित्र ग्रन्थ रहेको बताउँछन् । जुन प्रेरणाको मुहान हो उनी भन्छन् ।
खुदीमा खुदो भएको प्रसङ्गमा उनी भन्छन् विद्यालयका अध्यक्ष खगेन्द्रजङ गुरुङ, विद्यालयका शिक्षक खगेन्द्र पूर्वेली र आफू खगेन्द्र संग्रौला हेडमास्टर तीन जनै लाल झुकाब भएका व्यक्तिहरु बिचमा भएको शीतयुद्धको प्रसङ्ग उल्लेख भएको छ ।
बाल्यकालको प्रसङ्गमा उनी भन्छन् आफू मध्यम वर्गीय परिवारमा हुर्किएको, बुबाको हैकम रहेको, आमाले १० जना सन्तान जन्माएकी, आमाको मृत्युपछिको एक प्रसङ्गमा नर्वदादेवी भनी आमाको नाम उल्लेख गरेका उनलाई आफ्नै दिदीबहिनीले चित्त दुखाएपछि अवाक बनेका छन् । उनलाई आमाको नाम भागीरथा हो भन्नेसम्म पनि थाहा नभएको उल्लेख छ । उनले रुढीवादी परम्परा, अन्धविश्वासग्रस्त कर्मकाण्डी काजक्रियाप्रति विरोध जनाएका पाइन्छ । जिन्दगीका रमाइला भेटघाट र सपनाहरुको कुरा गर्दै उनले आफू लिम्बू बस्तीमा हुर्केबढेको र त्यही परिवेशमा बाल्यकाल बिताएको प्रसङ्ग जोडेका छन् । एकपटक बुबाले ११ वर्षे केटोलाई लिम्बू मितबाको घर के लिन पठाउनु भएको बेला मित आमाले सानो डबकामा हल्का वाफ पतपत उडिरहेको झोल पिउन दिएपछि हात समाएर घर पु¥याउन मित बा आफै जानु परेको, विवाह पछि ससुराली (तमु परिवार) मा जाँदा सबै खलकमा पालै पालो जानु परेको र सबैको घरमा चाख्दा चाख्दै उल्टी चलेको प्रसङ्गसमेत भेटिन्छ ।
वि.स.२०२७ मा पोखरामा गण्डकी साहित्य सम्मेलनमा निम्तामा जाँदा सिद्धिचरण श्रेष्ठसँगै गएको, सानै छँदा बुबाको सिलोक माधुर्यता, गीता पाठ र वाक्पटुताबाटै धेरै सिकेको, सरस्वती पूजामा कविता सुनाउने र दार्जिलिङको हावाले साहित्यिक कार्यक्रम भैरहने हुँदा लेख्ने बानी बस्दै गएको स्वीकारोक्ति उनमा पाइन्छ । पछि प्रकाण्ड विद्वान बामदेव पहाडी र ताना शर्मालाई आफ्नो माली बनाउन पाएकोमा उनी मख्ख छन् । उनले प्रलेसको खुलेर विरोध गरेका छन् उनी भन्छन् सीमित लक्ष्मण रेखामा प्रलेसलगायत युद्धप्रसाद प्रतिष्ठान, इच्छुक प्रतिष्ठान र साहित्य सदनहरु बाँधिएका छन् । सबैमा केही फरक भने पारिजात स्मृति केन्द्र रहेको उनी बताउँछन् ।
अनुवाद के रहेछ भन्ने प्रश्नमा खान त मैंले पनि खाएँ, फरक यत्ति हो एक खालका यी साथीहरुले माओको दर्शन, सिद्धान्त र आदर्शै खाइदिए । मैंले उनका कृतिहरु अनुवाद गरेर आफ्नो श्रम र सिपको फल खाएँ । अनुवाद सहज छैन । यो त मौरीले कुट बटुल्नु र मह बनाउने प्रकृया भन्दा भिन्न नभएको उनी जिग्रह गर्छन् । कुनै पनि कृतिको विधा, भाषा, विषय, दृष्टिकोण, प्रयोजन सन्देश, संरचना तथा शिल्पलाई अनुवादकर्ताले विशेष ध्यान दिनुपर्छ । महाकवि देवकोटा, ताना शर्मा र शंकर लामिछानेद्वारा रचित निबन्ध औधी रुचाउने उनी झर्रोवाद र अर्गानिक लेखनका धनी हुन् ।
मास्टरी जीवन र बन्दीपुरमा नाटक मञ्चनको प्रसङ्गमा उनी भन्छन् दिउँसो दासतामुखी शाही पाठ्यपुस्तक र राति शाहीतन्त्र विरुद्धको जागरण, संघर्ष र न्यायको पाठ सिकाउने गरेको, आफ्नै सत्सङ्गीहरुसँगको शीतयुद्धले खुदीबाट लखेटिएको, आफ्नै कमरेडको विश्वासघातले चुँदीबाट र काँग्रेसी भाइहरुको झोसपोलले बन्दीपुरबाट आफू लखेटिई चितवनको ठुलो आखेटमा परेको सन्दर्भ उल्लेख गर्दै बन्दीपुरमा ‘नलेखिएको इतिहास’ र ‘जोवनको देउरालीमा’ नाटक र उक्त नाटकमा प्रस्तुत पुरानो बाटो पैरो गयो नयाँ बाटो लेख्न बाँकी छ । ले मच्चाएको खैलाबैला र अन्तर जातिय प्रेम (नेवार र बाहुन) को प्रसङ्ग रहेका छन् । बालकृष्ण पोखरेल, ताना शर्माको झर्रोवादी आन्दोलनका अनुयायी उनले अंग्रेजी र हिन्दी शब्दको मिश्रणले क्वाँटीयुक्त अर्गानिक लेखन पस्केका छन् । भैरव अर्याल, डिपी भण्डारी, अभि सुबेदी, बुद्धिसागर, वामदेव पहाडी, पारिजात र नारायण वाग्लेलाई छोड्न सकेका छैनन् ।
कुनै बेला आफू महेन्द्रपन्थी र उग्र राष्ट्रवादी भएको स्वीर्काछन् । उनले आफू कवितामा जम्न नसक्ने भेउ पाएकोले आख्यानलाई निरन्तर बोकेका छन् । वि.स. २०२७ मा अजम्बरी उपन्यासको अनुवादबाट आख्यानको यात्रामा डोरिएका थिए । उनी आफूले आख्यान बुझेर त्यो कर्म थालेको नभई काम गर्दै जाँदा नशा लागेको तर्क दिन्छन् । आफ्नो लेखन प्रकृया स्वनिर्मित, संहिताबद्ध र योजनाबद्ध नभएको भन्दै उनी आफूले हिँड्दा हिँड्दै पढेको र लेखेको बताउँछन् । मौरीको जीवनजस्तो आफूलाई निरन्तर खुलेर लेख्न कसैले नरोकेको बताउने उनलाई छोराछोरी विदेश गएपछि आफू अलिकति फुर्सद मिलेको छ । आफूले जहिल्यै अन्याय, संघर्ष र पीडामा बोल्ने गरी लेखेको तर्क उनको छ । जुनकिरीको सङ्गीतमा पर्वत जिल्लाका तीन थरी दलित कामी, दमाई र सार्की बिचको आपसी विभेद र माओवादी जनयुद्धका तथ्य र शाही प्रशासनको दमनको उनले सशक्त विरोध गरेका छन् । उनले कम्युनिष्ट पार्टीको जडगत चरित्र र जनवादमाथि नेतृत्वको एकाधिकार भएको भनी विरोध गर्नुलाई ८ रेक्टर स्केलको वैचारिक भूकम्पको नाम दिएका छन् । माओवादीहरु (वैद्य र प्रचण्ड) लाई उनले जडसूत्रवादको एक शानदार दृष्टान्त दिएका छन् । आफ्नो जीवनमा निर्मल लामा र स्वनाम साथी प्रिय पात्रका रुपमा प्रस्तुत गरेका छन् । मोहनविक्रम सिंहले पुष्पलाललाई काँग्रेसको पुच्छर र गद्दार भनेको सन्दर्भ कोट्याउँदै झापाली झिल्कोलाई व्यक्ति हत्याको संज्ञा उनले दिएका छन् । शुरुमा रुपलाल विश्वकर्माको प्रशंसा गरेपनि पछि उनमा देखिएको वैचारिक र नैतिक विचलनले गर्दा उनको संगत छोडेको बताउँछन् । चित्रबहादुर केसीलाई उनले नालायकको संज्ञा दिएका छन् भने आफूलाई राल्फा आन्दोलनका लागि कर गर्ने बिमल चापागाईँले पारिजातलाई दिएको धोकाको विरोध गरेका छन् ।
उनले आफ्नो जीवनलाई अलिकता सत्यनिष्ठा, अलिकता इमान, अलिकता अभिनय, अलिकता स्टन्टबाजी र अलिकता ढोङ् मानेका छन् । सम्झनाका कुइनेटाहरु नामक कृतिमा गजल नलेख्नू भनेर १० ओटा टिप्सहरु लेखेपछाडि रिसले बुमबुम भएका गजलकारहरुबाट बहिस्कारको शिकार हुन पुगेको तथ्य सार्वजनिक गर्दै आफूले सबै उस्तै देखिने भएकाले एउटा मात्र गजल लेखे त भइहाल्यो नि भन्ने तर्क गर्छन् । रोल्पा जाँदा एक माओवादीका कमिसारले आफ्नो कविताको पाण्डुलिपी हेरी भूमिका लेखिदिनु प¥यो भनी आग्रह गरेको प्रसङ्ग झनै रोचक लाग्दो छ । उनले सो पाण्डुलिपी हेरेपछि साधनाको दास नभै कालिदास बन्न नसकिने र कविताको कुनै अंश सो पाण्डुलिपीमा नभएकाले दुधेबालकको संज्ञा दिँदै राजनीतिमै लाग्न सुझाब दिएका छन् । उनले सबै नेपालीले पूर्णकालीन रोजगारी पाएमा ९५ प्रतिशत कवि, गजलकार र गद्यलेखकहरु घट्ने तर्क गर्छन् ।
निरन्तर लेख्ने कर्ममा रमाउँदै दृष्टिमा बागी चिन्तन र लेखन, सत्ताको सधैँ सजग आलोचक हुनुपर्ने भएकाले राजनीतिक दलबाट बेलाबखतमा आउने मन्त्री, सांसद र प्रज्ञा प्रतिष्ठानको कुलपतिका अफरहरु इन्कार गरेका छन् । निर्मला पन्तको हत्याका प्रमाण नाङ्गा आँखाले देखिने गरी शासकहरु स्वयम्ले गुपचुप पारेका छन् । देशमा वैचारिक विचलन, नैतिक पतन र निराशालाई बढार्न अर्को क्रान्तिकारी उथलपुथलको आवश्यकता महसुस गरेका छन् ।
आफू बन्दीपुर बस्दा भारतीय सेनाका हवल्दार कारा गुरुङकी जेठी छोरीसँग अन्तरजातिय विवाह गर्न पुग्छन् । छोराछोरीहरु अमेरिका बस्ने र छोराका २ र छोरीका १ सन्तानसमेत भैसकेका छन् । उनले नाति–नातिनाको नाममा आधारित मिराय भिमानको बालसंसार कृतिसमेत लेखेका छन् । उनले छोराछोरी विदेश हुँदाको पीडाभाव छताछुल्ल पारेका छन् । शिक्षक आन्दोलनमा २०३७ मा भरतपुर जेल हुँदै विरगञ्ज कारागारमा बसेका चावेलका चाउरे कलम र विचारलाई जहिल्यै आफ्नो हतियार मानेका छन् । २०६२÷०६३ को आन्दोलनमा घरको बार्दलीमा काजु खादै बसेका केपी ओली र आन्दोलनमा मैदानमा उत्रने गिरीजाप्रसाद कोइरालाको तुलना गर्दै लेखेको स्तम्भमा केपी ओलीले आफ्नी श्रीमतीलाई फोन गरेर बुढालाई सम्झाउन प¥यो भनी आग्रह गरेको प्रसङ्ग समेत उल्लेख छ । उनले देवीप्रसाद सुबेदीले लेखेको मनु उपन्यासलाई अतीत मोहको द्योतक मानेका छन् । मनुस्मृतिले ब्राह्मणलाई शुद्ध मान्ने तर महिला र दलितमाथि नारकीय उत्पीडन थप्ने काम गरेको छ भनेर उनी भन्छन् । यसै सन्दर्भमा सन् १९२७ मा भारतीय दलित भीमराओ रामजी अम्बेडकरले मनुस्मृति जलाएको प्रसङ्गसमेत उल्लेख छ । तसर्थ आफूलाई झर्रो द्वन्द्ववादी, वर्गवादी र साम्यवादी भएको स्वीकार्दै समाजमा देखिएको विचलन घटाउन भीषण सांस्कृतिक संघर्ष र तुफानी सडक अभियान जरुरी भएको छ भनी उनी भन्छन् ।
आफ्नो जीवनको लखर–लखर यात्रामा घरभित्रबाटै भएको उपेक्षाको उनले विरोध जनाएका छन् । आफ्नै पिताले मरेको भेँडो झिल्की लिम्बुनीलाई भिडाएर मेलामा लगाएको दृश्यको विरोध गरेका छन् । वीरेन्द्र इन्टर कलेजमा राजारानी जिन्दावाद भनेपनि रात्रिकालीन कक्षामा मुर्दावादबाट न्यायको पाठ सिकेको, काठमाण्डौं बस्दा देश भित्रका देव्रे ढल्कुवा लाल युवा र देशबाहिरका बाम लेखकका कृति अध्ययन गरेको, निरञ्जन गोविन्द वैद्यको भोटाहिटीको अनुवाद कम्पनीमा समय व्यतीत गरेको, हाकुपटासीमा सजिएकी नारीतिरको आकर्षणमा रमाएको, शिलासँगको अव्यक्त प्रेम र अनुसँगको व्यक्त प्रेम तुहिएको प्रसङ्ग, भूमिगत राजनीतिक अड्डातिरको लखरलखर, बुर्जुवा शिक्षाको केन्द्र काठमाण्डौं बहिष्कार गरी पढाई छोडी लमजुङको खुदी पुगेको, गुर्सेनी फ्लोरेन्स नाइटिङ्गेलको डेरातिर लखरलखर धाएर वैवाहिक यात्रा शुभारम्भ गरेको, चैत्र ३ मा हिँड्न नसक्ने पारिजात दिदीलाई घेरा दिँदै सरकारको विरुद्धमा गरेको लखर–लखर, ज्ञानेन्द्रको ‘कु’ पछि आन्दोलनमा गिरीजाप्रसाद र गगनको पछिपछि गरेको लखर–लखर, मानव अधिकारवादीलाई अघि लगाएर गरेको लखर–लखर, कहिले प्रचण्डलाई साथ दिएको, आफ्नै गाउँलेको खेदो खन्न गरेको लखर–लखर, रत्नपार्कमा मिटरब्याज पीडितको माइतीघर मण्डलामा भएको आन्दोलनमा लखर–लखर, निर्मला पन्त र रुकुमका नवराज वि.क.को न्यायका आन्दोलनमा लखर–लखर गर्दै आफ्नो दिनचर्या चलिरहेको तथ्य सार्वजनिक गरेका छन् ।
व्यक्ति वृत्तमा आधारित प्रस्तुत प्रश्नोत्तर शैलीको कृति अविश्रान्त लखर–लखरले फरक धारलाई समाहित गरेको अनुभूति मैंले गरेको छ । लेखनमा आधुनिक चेतलाई यसले जन्म दिएको छ । परम्परावादी चिन्तनमा यसले क्रमभङ्गता कायम गरेको छ । आत्मकथाको विकल्पमा यसले काम गरेको छ । कृतिको आदि खण्ड तुलनात्मक रुपले प्रभावशाली देखिएको छ । पुनः उदय दाजुलाई बधाई !