कोटिहोम आश्रममा १०८ शिवलिङ्ग तथा लक्ष्मीनारायण भगवानको प्राण प्रतिष्ठा 

२०८१ श्रावण ७ सोमबार १८:३८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर १० स्थित शिद्दिदात्री दुर्गामन्दिर, कोटिहोम आश्रम परिसरमा स्थापित पञ्चमुखी पशुपति, श्री १०८ शिवलिङ्ग तथा लक्ष्मीनारायण भगवानको प्राण प्रतिष्ठा गरिएको छ । 

सोमबार एक समारोहका बीच धार्मिक प्रवचनका साथै पीठाधीश योगी खेचरनाथबाट लेखिएको राष्ट्रगुरु योगीनरहरिनाथको जीवन गाथा नामक पुस्तक समेत विमोचन गरिएको छ । 

श्री दुर्गामन्दिर सञ्चालक समिति कोटिहोम, श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम धार्मिक वनले आयोजना गरेको उक्त कार्यक्रममा वरिष्ठ साँस्कृतीकविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्व उपकुलपती, पुर्वीय दर्शन ज्ञाता डा.जगमान गुरुङ्ग प्रमुख अतिथि हुनुहुन्थो । 

कोटीहोम मन्दिरका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कोटीहोम मन्दिरलाई थप ब्यवस्थित गर्दै अघि बढेको बताउनुभयो । कोटीहोमका पीठाधीश योगी खेचरनाथले दुर्गाको मूत्र्ती पहिले नै स्थापना गरिएकोमा यहाँ समुदायको माग, योगी नरहरिनाथको कृपा र समुदायका सबै श्रद्धालु भक्तजनको सहयोगले गर्दा व्यवस्थापन कार्य सहज भएको बताउनुभयो ।

रामचन्द्र धितालले सहजिकरण गर्नुभएको कार्यक्रममा संरक्षक योगी श्रृषनाथ, गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारी, उप प्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल लगायतको उपस्थिती रहेको थियो ।