"प्रवासीको देश हुन्न" माथि अन्तर्किया

२०८१ श्रावण १ मंगलबार १९:०३:०० मा प्रकाशित

गैंडाकोट । लेखक पञ्चम अधिकारीको कथासंग्रह "प्रवासीको देश हुन्न" माथि अन्तर्किया कार्यक्रम गैंडाकोटमा सम्पन्न भएको छ ।

सम्पूर्ण किताब नारायणगढको आयोजनामा आयोजित सो कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी प्रमुख अतिथि रहनुभएको थियो ।

स्रष्टा रमेश प्रभातको अध्यक्षता रहेको सो कार्यक्रममा गायत्री श्रेष्ठले कथाको समीक्षा गर्नुभएको थियोे । उहाँले समीक्षाका क्रममा नेपाल र प्रवासका विषयवस्तुलाई कथाकारले सहज ढंगले उठान गर्नुभएको तर्क राख्नुभयो । कथाहरू लामालामा स्वरूपमा भन्दा पनि छोटाछरिता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यसैगरी अर्का समीक्षक डा हरिहर पौडेलले आफ्नो समीक्षा  प्रस्तुत गर्दै १४ ओटा कथामध्ये ५ओटा  कथा प्रवासलाई आधार मानेर लेखिएका, प्रवासका नेपाली सन्तानलाई नेपाल सुन्दा र देख्दा पाइने भिन्नतालाई कथावस्तु बनाइएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार वसन्त पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्पूर्ण पुस्तकका सन्चालक लेखराम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।