नवलपुरका २३ विद्यालयको सहकार्यपछि बन्यो ‘युनाइटेड तक्षशिला’ 

२०८१ असार १८ मंगलबार १९:०९:०० मा प्रकाशित

गैँडाकोट । नवलपुरका २३ वटा विद्यालयको सहकार्य सहित संस्था र व्यक्ति गरी ३० जनाको लगानीमा एकीकृत संस्थाका रुपमा गैँडाकोटमा ‘युनाइटेड तक्षशिला एजुकेशन’ सञ्चालन गरिएको छ । 

विजय सामुदायिक शिक्षा सदनको सम्बन्धनका रुपमा रहेपनि ‘युनाइटेड तक्षशिला एजुकेशन’ को छुट्टै बोर्ड गठन गरिएको छ । बोर्डको अध्यक्षमा खेमराज सापकोटा, बोर्ड सदस्यहरुमा लक्ष्मीप्रसाद दवाडी, दीपक रावत, गोपीनाथ खरेल, हरिभक्त कँडेल, निर्मल पाण्डे र बुद्धिसागर रिमाल रहनुभएको छ । 

कक्षा ११ र १२ मा बायो साईन्स, कम्प्युटर साईन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, एजुकेशन र मानवीकि संकायमा अध्यापन गराउने गरी सञ्चालन गरिएको हो । गैँडाकोट ५ स्थित विजय सामुदायिक शिक्षा सदनको भवनमा कक्षा सञ्चालन हुनेछ । 

गैँडाकोटका विद्यालयहरुमा शाइनिङ, बालविकास, अमर इङ्गलिस, विजय सामुदायिक, स्मलहर्ट, एभरग्रिन, ज्ञानकुञ्ज, युनिक गरी ८ वटा, देवचुलीका ४ वटा, कावासोतीका ४ वटा, हुप्सेकोटको १, मध्यविन्दुका ३, विनयी त्रिवेणीका ३ वटा विद्यालयले सहकार्य गरेका छन् । उक्त शैक्षिक संस्थाहरु र व्यक्ति गरी ३० जनाको लगानी रहेको छ । उक्त उल्लेखित विद्यालयहरुमा यस वर्षदेखी कक्षा ११ मा भर्ना भने नलिइने सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् । 

बोर्डका अध्यक्ष खेमराज सापकोटाले मंगलबार भएको पत्रकार सम्मेलनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उत्कृष्ट शैक्षिक थलोका रुपमा विकास गर्ने उद्देश्यले शैक्षिक व्यक्तिहरुको एकीकृत संस्थाको रुपमा युनाइटेड तक्षशिला अघि बढ्ने बताउनुभयो । विजय सामुदायिक शिक्षा सदनको कक्षा ११ र १२ को पठन पाठनलाई युनाइटेड तक्षशिलाले अन्य व्यवस्थापनको काम गर्ने सापकोटाले पत्रकार भेटघाटमा बताउनुभयो । जिल्लाभरका विद्वान व्यक्तिहरुको सामुहिक प्रयासपछि गुणस्तरीय शिक्षा प्रदान गरी नेपालकै नम्बर वान शैक्षिक हबका रुपमा विकास गर्ने गरी अघि बढेको तक्षशिलाका अध्यक्ष खेमराज सापकोटाले बताउनुभयो ।

युनाइटेड तक्षशिलाका सञ्चालक निर्मल पाण्डेले विज्ञान विषय अध्ययन गर्न कतै जानु नपर्ने र गुणस्तरीय शिक्षा प्राप्त गर्ने विद्यालय बनाउन युनाइटेड तक्षशिलाले व्यवस्थापन बढाएको बताउनुभयो । कक्षा ११ र १२ को सुविधा सम्पन्न कक्षा कोठा, सुविधा सम्पन्न ल्याब तथा कम्प्युटर, प्रोजेक्टर लगायतका शैक्षिक सामग्री सहितको व्यवस्थापन मिलाइएको छ । सोमबारमात्रै साढे २ सय विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको पत्रकार भेटघाटका क्रममा जनाइएका थियो । 

बिहानी र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालन हुने छन् । बिहानी कोअर्डिनेटर विनोद गौतम र दिवाकालिन कोअर्डिनेटर भोलाराज दवाडी रहनुभएको छ । विद्यालयले छात्रवृत्ति सहितको छुट सहितका कार्यक्रम समेत घोषणा गरेको छ ।