गैँडाकोट प्रज्ञा पुस्तकालय स्थापनासँगै सहमति संस्थाको सहयोग 

२०८१ असार १५ शनिबार १६:३२:०० मा प्रकाशित

गैँडाकोट ।  महर्षि जनक स्मृति ‘गैंडाकोट प्रज्ञा पुस्तकालय’को स्थापनासँगै गैंडाकोट ५ स्थित सहमति संस्थाले गैँडाकोट नगर प्रज्ञा प्रतिस्ठानलाई एक थान ल्यापटप र एक थान प्रिन्टर सहयोग गरेको छ ।

प्रतिस्ठानको लेखा प्रणाली राख्न तथा कम्प्युटर सम्बन्धी कामका लागि सघाउ पुगोस् भन्ने हेतुले ल्यापटप र प्रिन्टर सहयोग गरेको हो । सहमतिका अध्यक्ष होमनाथ सुवेदीले गैँडाकोट नगर प्रज्ञा प्रतिस्ठानका अध्यक्ष एवं नगर प्रमुख मदनभक्त अधिकारीलाई प्रतिस्ठानको सभाहलमा ल्यापटप र प्रीन्टर हस्तान्तरण गर्नुभएको हो । ल्यापटप हस्तान्तरण कार्यक्रममा सहमतिका महासचिव बेलप्रसाद पौडेल, सञ्चालक सदस्य दयासागर सुवेदी, गैँडाकोट नगर प्रज्ञा प्रतिस्ठानका उपकुलपति गोविन्दराज विनोदी, जनक नमुना माविका प्रधानाध्यापक चुडामणि शर्मा लगायतको उपस्थिति रहेको थियो । 

ल्यापटप हस्तान्तरण गर्दै सहमतिका अध्यक्ष होमनाथ सुवेदीले यसको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । गैँडाकोट नगर प्रज्ञा प्रतिस्ठानका सदस्य सचिव भिमप्रसाद शर्माले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो । 

यसैबीच गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान र श्री जनक नमुना माध्यमिक विद्यालयबीच पुस्तकालय सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । 

गैँडाकोट नगर प्रज्ञा प्रतिस्ठानका अध्यक्ष एवं नगर प्रमुख मदनभक्त अधिकारी र जनक नमुना माविका अध्यक्ष केशवप्रसाद सापकोटाले गर्नुभएको सम्झौता पत्र प्रधानाध्यापक चुडामणि शर्मा र नगर प्रमुख मदनभक्त अधिकारीले आदानप्रदान गर्नुभयो ।

गैँडाकोट ५ स्थित (राजमार्गसँगै रहेको) पुरानो जनक नमुना माध्यमिक विद्यालयमा रहेको पुस्तकालय अब गैँडाकोट नगर प्रज्ञा प्रतिस्ठानको स्वामित्वमा रहनेछ । जनक नमुना माविका अधिकांश कक्षाहरु काँग्रेस चोक स्थित नवनिर्मित भवनबाट सञ्चालन हुँदै आएकोमा पुरानो भवनमा रहेको सो पुस्तकालय पूर्णरुपमा उपयोग हुन सकेको थिएन । सो पुस्तकालयलाई नयाँ व्यवस्थापन र लक्ष्यका साथ गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले सञ्चालन गर्नेगरी सम्झौता भएको हो ।

सम्झौता अनुसार उक्त पुस्तकालयको नाम उल्लेख गर्दा पहिलो माथिल्लो हरफमा ‘महर्षि जनक स्मृति’ तथा दोश्रो हरफमा केही ठूलो अक्षरमा ‘गैँडाकोट प्रज्ञा पुस्तकालय’ राख्ने सहमति बनेको छ । विद्यालयले हालसम्म सो पुस्तकालयका लागि प्रयोग गरेका सम्पूर्ण फर्निचरहरु, पुस्तकहरु र पुस्तकालय प्रयोजनमा रहेका सम्पूर्ण सामग्रीहरु अबदेखी ‘महर्षि जनक स्मृति, गैँडाकोट प्रज्ञा पुस्तकालय’ले प्रयोग गर्नेछ ।