विद्यालय व्यवस्थापन समिति जागरुक बने विद्यालय बन्छ

२०८१ जेठ २० आइतबार १३:३२:०० मा प्रकाशित


गैँडाकोट । मौलाकाली सामुदायिक सिकाइ केन्द्रले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूकालागि अभिमुखीकरण सम्पन्न गरेको छ । बुधबार केन्द्रले गैँडाकोट ६, ७ र ८ का विद्यालयहरू भाग्योदय, कालिका, विजय र नारायणी विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, सदस्य, शिक्षक अभिभावकसंघका प्रतिनिधिहरूलाई सार्वजनिक शिक्षाको सुधारका लागि आ–आफ्ना भूमिका कसरी प्रभावकारी बनाउने सन्दर्भमा अभिमुखीकरण गरिएको केन्द्रका अध्यक्ष कमल पराजुलीले बताउनुभयो । 
सोमबार जनक माध्यामिक विद्यालयको सभाहलमा गरिएको अभिमुखीकरणमा गैँडाकोट नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईं र शिक्षाविद् गोपालप्रसाद भण्डारीले सरोकारवालालाई अभिमुखीकरण गर्नुभएको थियो । डा. चापागाईंले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भूमिका,  विभिन्न तहका सरकारको भूमिकाका बारेमा प्रष्ट पार्नुभएको थियो । 
शिक्षाविद् गोपालप्रसाद भण्डारीले विद्यालयको संस्कृति, सिकाई उपलब्धीको अवस्था र गुणस्तरमा वर्तमान अवस्था, अवसर र चुनौतीका साथै अबको गन्तव्य कस्तो हुने सन्दर्भमा प्रष्ट पार्नुभएको थियो । 
कार्यक्रममा गैँडाकोट नगरपालिका शिक्षा शाखाका अधिकृत रामप्रसाद अधिकारी, गैँडाकोट नगरपालिका वाड नं. ८ का वडा  अध्यक्ष प्रेम सापकोटा, विकू सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटा लगायतले बुवाआमाले राम्रो संस्कार ग्रहण गरे छोराछोरी स्वतः राम्रो र संस्कारी हुने बताउनुभयो ।
केन्द्रले अनौपचारिक प्रौढ विद्यालय सञ्चालन गर्दै आएको छ । केन्द्रमा अहिले पनि विभिन्न उमेरसमूहका ३५ जना अध्ययनरत रहेका छन् । विहान ११ बजेदेखि ३ बजेसम्म कक्षा सञ्चालन गर्ने गरेको छ । यसका साथै महिलाहरुको आर्थिक सबलीकरणका लागि सीप विकासका विभिन्न कार्यक्रम पनि केन्द्रले गर्ने गरेको छ ।