गोरखामा बर्डफ्लुको जोखिम, सतर्कता अपनाउन आग्रह

२०८३ असार २९ सोमबार १३:१९:०० मा प्रकाशित

सुलिकोट ,गोरखा। गण्डकी प्रदेश सरकारअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाले जिल्लामा बर्डफ्लु संक्रमण फैलन सक्ने उच्च जोखिम रहेको भन्दै सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सोमबार कार्यालयले जारी गरेको सूचनामा हाल देशका ११ जिल्लामा अत्यधिक संक्रामक एभियन इन्फ्लुएन्जा पुष्टि भइसकेको उल्लेख छ। गोरखामा पनि संक्रमण फैलन सक्ने सम्भावना रहेकाले उपभोक्ता, कुखुरा व्यवसायी, किसान तथा सम्बन्धित निकायलाई रोग रोकथाम र नियन्त्रणका उपाय कडाइका साथ पालना गर्न कार्यालयले आग्रह गरेको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले घरपालुवा कुखुरालाई जंगली चरासँग सम्पर्क हुन नदिन, दाना तथा पानी दूषित हुन नदिन, फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधनको प्रवेश रोक्न र प्रवेश गर्नुअघि अनिवार्य रूपमा निःसंक्रमण गर्न आग्रह गरेको छ।

कार्यालय प्रमुख अनन्त कोइरालाद्वारा जारी सूचनामा प्रयोग गरिएका अण्डा राख्ने ट्रे पुनः प्रयोग नगर्न, कुकुर, बिरालो, मुसालगायत अन्य जनावरलाई कुखुरा खोरभित्र प्रवेश गर्न नदिन तथा मरेका कुखुराको सुरक्षित व्यवस्थापन गर्न भनिएको छ।

त्यस्तै, कुखुरा फार्ममा कार्यरत कामदार, प्राविधिक तथा पशु चिकित्सकले व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्नुपर्ने, पशु चिकित्सकले जारी गरेको भेटेरिनरी प्रमाणपत्रका आधारमा मात्र कुखुरा तथा कुखुराजन्य पदार्थ ओसारपसार गर्नुपर्ने र फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने सूचनामा उल्लेख छ।कार्यालयले अन्य संक्रामक रोगविरुद्ध नियमित खोप लगाउन पनि किसानलाई आग्रह गरेको छ।

कुनै पनि कुखुरा फार्म वा अन्य स्थानमा अस्वाभाविक रूपमा धेरै चराचुरुङ्गी बिरामी परेको वा मरेको देखिए तत्काल भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखा वा सम्बन्धित पशु सेवा शाखामा जानकारी गराउन कार्यालयले अनुरोध गरेको छ।संक्रमण नियन्त्रणका लागि सबैको सचेतना र सहकार्य आवश्यक रहेको कार्यालय प्रमुख कोइरालाले बताउनुभयो।