त्रिवेणी साहित्य प्रतिष्ठान गैंडाकोटको पाँचौँ वार्षिक साधारण सभा एवं २१३औं भानुजयन्ती विशेष कार्यक्रम सम्पन्न

२०८३ असार २९ सोमबार १९:५०:०० मा प्रकाशित

गैंडाकोट । त्रिवेणी साहित्य प्रतिष्ठान गैंडाकोटको पाँचौँ वार्षिक साधारण सभा एवं २१३औं भानुजयन्ती विशेष कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार गायत्री श्रेष्ठ रहनु भएको थियो । उक्त अवसरमा करिब दुई दर्जन स्रष्टाहरूले भानुभक्त विशेष रचना पाठ गर्नु भएको थियो । कार्यक्रमको पूर्व खण्डमा रामायण पाठ तथा रचना वाचन गरिएको थियोभने त्यसको लगत्तै प्रतिष्ठानको पाँचौ वार्षिक साधारण सभा सन्चालन भएको थियोे ।

साधारणसभामा संस्थाका सचिव भूमिश्वर शर्मा भावुकले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष मुक्तिनाथ न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार मुकुन्द पौडेल, सल्लाहकार गोविन्द कोइराला, जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारी, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार एवम् गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्मा, गैंडाकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष पीताम्बर सापकोटा, आदिकवि भानुभक्त टोल विकास संस्थाका अध्यक्ष पदमा सुवेदी, साहित्यप्रेमीहरू करूणासागर सुवेदी, शरदचन्द्र पण्डित, मुना धनन्जय, विष्णु पन्थीलगायत आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा त्रिवेणी रामचन्द्र अन्नपूर्ण हरिमाया स्मृति पुरस्कार स्रष्टा श्यामजी अतिथिलाई समर्पण गरिएको थियोे । गैंडाकोटमा रहेको कालिका मन्दिर, कालिका आश्रमको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको सहयोगी संस्थाका रूपमा आदिकवि भानुभक्त टोल विकास संस्था रहेको थियो ।