दलहरुबिच सहमति, सदनको गतिरोध अन्त्य हुने

२०८१ जेठ १५ मंगलबार १३:३२:०० मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको मङ्गलबार बसेको बैठकले सोमबार दलबिच संसदीय समिति गठन गर्ने विषयमा भएको निष्कर्ष उन्मुख सहमतिलाई अनुमोदन गरेको छ । सदनमा भएका प्रमुख दलबिच समिति गठन गर्ने, समितिमा रहने सदस्यको सङ्ख्या, कार्यादेश के हुने र छानबिन गर्ने अवधिबारे समेत सहमति भएको कांग्रेस प्रमुख रमेश लेखकले जानकारी दिनुभयो ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेकोसमेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरी संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।

समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलले आजै कार्यादेश अन्तिम रुप दिनेछ । त्यस्तै आजै अपराह्न बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समिति गठन गर्ने उहाँले बताउनुभयो ।

त्यसअघि नै सङ्घीय संसद् सचिवालयलाई समितिमा रहने आफ्नो पार्टीकोतर्फबाट नाम दिने कांग्रेसले जनाएको छ । प्रमुख सचेतक लेखकले कार्यादेशमा व्यक्तिको नाम र पद लेख्नेभन्दा पनि सहकारीको नाम र अपचलन भएको सन्दर्भमा संलग्न जोसुकै व्यक्तिबारे अनुसन्धान हुने स्पष्ट पार्नुभयो । रासस