सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

२०८१ जेठ १५ मंगलबार १३:०७:०० मा प्रकाशित

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेकाे बताउनुभएकाे छ ।

गणतन्त्र दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा भएकाे विशेष कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका धेरैजसो काम पूरा भएका र सङ्क्रमणकालीन न्यायका बाँकी काम टुङ्गोमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएकाे हाे । संविधान सभाबाट निर्माण गरेको नेपालको संविधानअनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा रहेको र यो व्यवस्थाले समृद्ध नेपाल निर्माणका लागि मार्गनिर्देश गरेको उहाँकाे भनाइ छ ।

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनका रूपमा आज विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । बिहान टुँडिखेलमा भएकाे कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत सहभागी थिए ।

समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टिका साथै गणतन्त्र दिवस–२०८१ लेखिएको ब्यानर प्रदर्शन गरिएकाे छ । यस्तै काठमाण्डौ, भक्तपुर र ललितपुरका विभिन्न पालिकाबाट परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहितका कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेअनुसार कार्यक्रम भइरहेका छन् । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो ।