कवि उपेन्द्र त्रिपाठीको 'अक्करे भीरको बाटो हिँडेपछि' विमोचन 

२०८१ जेठ १० बिहीबार १७:५०:०० मा प्रकाशित

भरतपुर । कवि उपेन्द्र त्रिपाठीको 'अक्करे भीरको बाटो हिँडेपछि' भरतपुरमा एक कार्यक्रमका बिच विमोचन गरिएको छ ।

अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कवि गणेश श्रमणले सुन्दर कविताहरूको संग्रह तयार भएको बताउनुभयो । शिक्षण पेशामा लामो समय व्यतीत गर्नुभएका त्रिपाठीको यो पहिलो कविता संग्रह हो । कार्यक्रममा कवि एवम् समीक्षक भूपीनले चितवनले चिन्न नसकेको कवि त्रिपाठी रहेको बताउनु भयो । उहाँका रचनाहरू अत्यन्तै सरल, सम्पेष्य भाषामा रचिएका बताउनु भयो । यथार्थपरक शैलीमा समाजवादी धार र पुँजीवादी धारको समाजलाई कोट शीर्षकको कवितामा आलङ्कारिक प्रयोग गरिएको बताउनुभयो । संग्रहभित्र भूपी शेरचन र गोपालप्रसाद रिमालको छाप परेको बताउनुभयो ।

साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईं, सहकर्मी शारदा पौडेललगायत कविका छात्रछात्राहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  कार्यक्रम टोलविकास संस्थाका अध्यक्ष कुष्माखर अधिकारी प्रमुख अतिथि रहनुभएको थियोे । सागर कार्की स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजीकरण सम्पूर्ण पुस्तक पसल नारायणगढका प्रबन्धक लेखराम सापकोटाले गर्नुभएको थियो ।