गैँडाकोटमा ‘बुद्ध र कमल’ चित्रकला कार्यशाला, प्रदर्शनी एवम् कला–संवाद

२०८१ जेठ १० बिहीबार १७:३८:०० मा प्रकाशित

गैँडाकोट । २५६८औँ बुद्ध जयन्तीका अवसरमा गैँडाकोटमा ‘बुद्ध र कमल’ चित्रकला कार्यशाला, प्रदर्शनी एवम् कला–संवाद कार्यक्रम सम्पन्न भएको छ । 

गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा हामी कलाकार नवलपुर चितवनको सहयोगमा ‘बुद्ध र कमल’ चित्रकला कार्यशाला, प्रदर्शनी एवम् कला–संवाद कार्यक्रम सम्पन्न भएको हो । 

गैँडाकोट ५ स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले कला र साहित्यको सम्मानका लागि नगरपालिकाले प्रोत्साहन गर्दै आएको बताउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने बताउनुभयो । 

कार्यक्रमका अध्यक्ष गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उप कुलपति गोविन्दराज विनोदीले प्रचार प्रसारको अभावमा कला र साहित्य ओझेलमा परेको बताउनुभयो । 

उदय अधिकारीले सहजीकरण गर्नुभएको संवादमा भाग लिदैँ पत्रकार रमेशकुमार पौडेल, साहित्यकार सरिता तिवारी र चित्रकार प्रकाश थापाले चित्रबारेको बुझाइ समुदाय स्तरमा कम रहेको र त्यो बुझाउन समेत नसक्दा ओझेलमा परेको बताउनुभएको थियो । 

गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव भिम शर्माले मिडियालाई धेरै भन्दा धेरै कभरेज गरी कला सहित्यलाई उजागर गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा विभिन्न साहित्यकारहरुले बुद्धको अनुसरण गर्दै चित्रकला र साहित्यलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सभाहलमा बुद्धसँग सम्बन्धित विभिन्न कलाकारका तस्विर प्रदर्शन गरिएको थियो ।