चितवनमा पेट्रोल बम हानेर जलाइयो विद्यार्थी लिन हिँडेको बस

२०८१ बैशाख ३० आइतबार १४:२८:०० मा प्रकाशित

चितवन । चितवनको भरतपुर महानगरपालिका-२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम हानेर आगजनी गरिएको छ ।

आइतबार बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम हानेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताउनुभयो ।

६ जनाको समूहका व्यक्तिहरूले चालक र सह-चालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गरेको उहाँले बताउनुभयो । पेट्रोल बम हानिएपछि आगो लागेर बस पूरै जलेको छ ।

रिजालका अनुसार प्रहरीले घटनास्थलमा पुगेर विवरण लिएको छ । थप अनुसन्धानपछि मात्रै कसले र किन बम प्रहार गरेको भन्ने खुल्न सक्ने उहाँले बताउनुभयो ।