पठन संस्कृतिका लागि अनुशासन पहिलो सर्त : लेखक हरि शर्मा

२०८१ बैशाख २९ शनिबार १७:१५:०० मा प्रकाशित

गैँडाकोट । लेखक तथा विश्लेषक हरि शर्माले पठन संस्कृतिका लागि अनुशासन पहिलो सर्त भएको बताउनुभएको छ । 

सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्थाको आयोजनामा पठन संस्कृति अभियानको दोस्रो श्रृङ्खलाका प्रमुख अतिथि शर्माले भाषिक शुद्धताका लागि पनि पढ्न जरुरी रहेको बताउनुभयो । 

विजय विकास स्रोत केन्द्र गैँडाकोटमा शनिवार भएको कार्यक्रममा उहाँले पठन संस्कृति अभियान शुभारम्भ गरेकोमा खुसी व्यक्त गर्दै पढ्नु भनेको उडान भर्नु सरह भएको व्याख्या गर्नुभयो । पढ्ने आफ्नै लागि हो भन्दै उहाँले लेखक, समालोचक, शिक्षक, पत्रकार लगायत कुनै पेशागत विधा भए कहिले काँही अरुको लागि भएपनि पढ्नुपर्ने बताउनुभयो ।


अध्ययनले विश्वासको भाव बढाएर लैजाने बताउँदै जसले लोकतन्त्र पनि बलियो बनाउने तर्क गर्नुभयो । पढेपछि शेयर गर्न आग्रह गर्दै उहाँले ज्ञान अज्ञानतामा परिणत भए त्यो भारी समेत हुन सक्ने भन्दै सचेत गराउनुभयो । कहिले आनन्दका लागि, कहिले व्यवसायका लागि, कहिले देखाउनका लागि त कहिले सुनाउनका लागि जे जसरी गरेपनि स्वअध्ययन हुने भएकाले यसले व्यक्तिगत विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो कक्षा पास गर्न पढियो तर अब जीवन बुझ्नलाई पढ्ने की !” 

एक महिना अघि अध्ययनका लागि पुस्तक लगेका २० जना पाठकले पुस्तकका सिकाइबारे अनुभव शेयर गरेका थिए । 

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले पाठकका प्रतिक्रियाले थप उत्साह जागेको उल्लेख गर्नुभयो । उहाँले समाज डिजिटल युगमा प्रवेश गर्दै गर्दा सामाजिक एकता, भेटघाट, सद्भाव, अध्ययन, विश्लेषण हराउँदै गएको सन्दर्भमा समाजमा पठन संस्कृतिको अभियानबाट सकारात्मक चिन्तनतर्फ मोड्न आवश्यक भएको बताउँदै यो अभियानको थालनी गरिएको बताउनुभयो । 

कार्यक्रममा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका निवर्तमान अध्यक्ष डा. भूमिराज चापागाईंले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

प्रत्येक महिनाको अन्तिम शनिबार कार्यक्रमबाट अध्ययनका लागि लगेका र आफूले पढेका पुस्तकमाथि थप चर्चा हुनेछ ।