गैँडाकोट १७ ले प्रतिलिटर दूधमा १ रुपैयाँ अनुदान दिने

२०८० चैत २१ बुधबार १८:५९:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट १७ ले प्रतिलिटर दूधमा १ रुपैँया अनुदान दिने भएको छ । पशुपालनको प्रवर्धन तथा किसानको प्रोत्साहन स्वरुप वडा कार्यालयले किसानलाई अनुदान दिन थालेको हो ।

आर्थिक वर्ष २०८०/८१ को कृषि तथा पशुपालन अनुदान कार्यक्रम कार्यान्वयन समारोह गर्दै वडाले १ लाख ५४ हजार अनुदानको घोषणा गरेको हो । अमर बचत तथा ऋण सहकारी र अमरापुरी बहुउद्देश्यीय सहकारीमा वडा भित्रका किसानले यस आर्थिक वर्षको साउन देखि पौषमसान्तसम्मा संकलन गरेको दूधको आधारमा अनुदान वितरण गर्ने गैँडाकोट १७ का वडा अध्यक्ष गोपी कंडेलले बताउनुभयो । सो अवधिमा वडाका किसान मार्फत  १ लाख ५४ हजार लिटर दुध डेरीमा संकलन भएको छ ।  

गैँडाकोट १७ ले वडाको कुल बजेटको १७ प्रतिशत बजेट कृषिमा लगानी गरेको वडा अध्यक्ष कंडेलले बताउनुभयो । किसानले आफुलाई परेको समस्या सम्बन्धित निकायमा राख्न आफै जागरुक हुनु पनि किसानलाई कंडेले सुझाब दिनुभयो । 

वडा सदस्य तेजबहादुर बोहराले दूध उत्पादन घट्दै जानु, किसानले मूल्य पनि नपाउने अवस्थामा वडाको यस अभियानले सकरात्मक सन्देश दिएको बताउनुभयो । 
गैँडाकोट १६ का पूर्व वडा अध्यक्ष गोबर्धन ज्ञवालीले गैँडाकोट १७ ले विभिन्न समयमा विभिन्न प्रकृतिका तालिम प्रदान गर्दै आइरहेको हुँदा तालिमको सहि सदुपयोग गर्दै व्यवसायिक बन्न सुझाब दिनुभयो । 

किसानको प्रोत्साहनका लागि वडाले गरेको कार्यक्रम प्रशंसायोग्य रहेको अमर बचत तथा ऋण सहकारी संस्थाका सचिव आनन्दकुमार शर्मा पंगालीले बताउनुभयो । 
अमरापुरी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष श्याम केसीले वडाले दुग्ध उत्पादक किसानलाई प्रतिलिटर अनुदान दिने काम प्रशंसायोग्य रहेको बताउँदै निरन्तरताका लागि सुझाब दिनुभयो । 

अमरज्योती माध्यामिक विद्यालयका प्रधानाध्यापक दुर्गा सापकोटाले अनुदान दिने कामले किसानलाई हौसला बढाएको बताउँदै यसले बजेटको उपयोगिताको असल संस्कार स्थापित गरेको बताउनुभयो । 

कार्यक्रम सञ्चालनको सहजीकरण वडा सदस्य डिल्लीप्रसाद सापकोटाले गर्नुभएको थियो । 

अमरापुरी क्षेत्र दुग्ध उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । अमरापुरीमा रहेको अमर बचत तथा ऋण सहकारीको दूध संकलन केन्द्रमा प्रति दिन १ हजार लिटर बढी दूध संकलन हुने अमरका व्यवस्थापक देवेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । यस्तै अमरापुरी बहुउद्देश्यीय सहकारीको दूध संकलन केन्द्रमा प्रति दिन करिब १८ सय लिटर दुध संकलन हुने गरेको संस्थाका व्यवस्थापक विष्णुप्रसाद काफ्लेले जानकारी दिनुभयो ।