गण्डकीका नयाँ सरकार गठनका लागि आह्वान, फेरि मुख्यमन्त्री बन्ने रणनीतिमा पाण्डे 

२०८० चैत २१ बुधबार १५:१८:०० मा प्रकाशित

पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएलगत्तै गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । संविधानको धारा १६८ को धारा २ अनुसार सरकार गठनका लागि उहाँले ७ दिनको म्याद राखेर आह्वान गर्नुभएको हो । चैत २७ गते दिनको २ बजेभित्र सरकारका लागि दावी गर्न उहाँले आह्वान गर्नुभएको हो । 
प्रदेशको दोस्रो कार्यकालका लागि एमालेका खगराज अधिकारीले पुस २५ गते शपथ लिनुभएको थियो । तर उहाँले छोटो समयमा पदबाट हट्नुप¥यो । पछि सोही उपधारा बमोजिम कांग्रेसका सुरेन्द्रराज पाण्डेले वैशाख १५ गते शपथ लिनुभएको थियो । 
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै माओवादीका मन्त्रीलाई पदच्युत गरेको भोलिपल्ट अर्थात् फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे सरकार अल्पमतमा परेको थियो ।
चैत २२ गतेभित्र सदनबाट विश्वासको मत लिनुपर्नेमा मुख्यमन्त्री पाण्डेले सदन फेस भने गर्नुभएन । संविधानको धारा १६८ को २ अनुसार वैैशाख १५ गते उहाँ मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । 
प्रदेश सभामा २ सदस्य रहेको राप्रपा अनिर्णीत हुँदा गण्डकीमा अब नयाँ गठबन्धनको सरकार बन्न सक्ने सम्भावना कम रहेको आँकलन गर्दै उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने रणनीतिमा उहाँले राजीनामा दिनुभएको हो । 
६० सदस्यीय प्रदेश सभामा कांग्रसको २७ सिट छ । उसलाई सरकार बनाउन थप ३ सिट चाहिन्छ । त्योमध्ये एक सिट दिपक मनाङेको थपिएको छ । राप्रपाको २ सिटले पनि कांग्रेसलाई पुग्दैन । माओवादीको चुनाव चिन्हमा चुनाव जितेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटको आश कांग्रेसलाई छ ।
२२ सिट भएको एमालेले सभामुखवाहेक ७ सिट भएको माओवादीसँगै राप्रपाको साथ पाउने आश गरेको छ । त्यसो भयो भने खगराज अधिकारी नै गण्डकीमा मुख्यमन्त्री हुनेछन् ।