वैशाख १ गतेदेखि भरतपुर आउने गाडी नारायणगढ बजारसम्म जान पाउने

२०८० चैत २१ बुधबार ०६:०२:०० मा प्रकाशित

भरतपुर- आगामी वैशाख १ गतेदेखि लागू हुने गरी भरतपुरको मुख्य राजमार्गका सबै क्षेत्रमा सवारी साधन चल्न पाउने भएको छ ।

भरतपुर महानगरपालिकामा मंगलबार यातायात व्यवस्थापन सम्बन्धी सरोकारावालासँग भएको छलफलले नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि सवारीलाई पिक एण्ड ड्रपको सिद्धान्तअनुसार राजमार्ग क्षेत्रमा सवारी चलाउन पाइने निर्णय भएको हो । जसअनुसार चौबीसकोठी, पुलचोक, नारायणगढ बसपार्क हुँदै आँपटारी बाइपासबाट केन्द्रीय बसपार्कमा पार्किङ गरी फर्कने व्यवस्था मिलाउने निर्णय गरिएको महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

यसअघि पूर्वी चितवन र पश्चिम चितवनबाट आउने सवारीसाधनलाई चौविसकोठी सम्म मात्र आउन दिने व्यवस्था गरिएको थियो । नारायणगढ बजारमा ट्राफिक जाम र सडक निर्माण भइरहेका कारण यस्तो नियम लागू गरिएको थियो । अब सडक विस्तार सम्पन्न हुने चरणमा रहेकाले नियम परिवर्तन गरिएको महानगरपालिकाले जनाएको छ ।

यातायात व्यवसायीमार्फत सञ्चालनमा आएका सबै सवारी साधनहरुमा भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्धन गर्न घुमौँ भरतपुर को स्टिकर प्रभावकारी रुपमा टाँस्ने निर्णय पनि भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । बैठकले भरतपुर भ्रमण वर्ष २०२४ को प्रर्वद्धन तथा प्रचार प्रसारको लागि यातायात व्यवसायीहरुले सवारी भाडामा छुट दिनका लागि आह्वान गर्ने निर्णय पनि गरेको छ ।

यस्तै महानगरपालिकाको भरतपुर नारायणगढ आसपासको क्षेत्रमा सवारी साधनको पिक एण्ड ड्रपका लागि ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ । महानगरपालिकाको वातावरण महाशाखा प्रमुख ओमप्रसाद पाण्डेको संयोजकत्वमा ७ सदस्यीय कार्यदल पनि भएको छ ।

पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउने काम २०७७ साल माघ महिनाबाट सुरु भएको थियो ।
भरतपुर भ्रमण वर्षलाई लक्षित गरी दुई महिना अघि सवारीसाधनलाई चौबीस कोठीसम्म आउन पाइने व्यवस्था मिलाइएको थियो ।