आज पनि ठाउँ-ठाउँमा पानी पर्ने सम्भावना, आइतबारदेखि मौसम सुधार हुने

२०८० चैत १७ शनिबार ०६:२२:०० मा प्रकाशित

हाल देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आजसम्म रहने महाशाखाले जनाएको छ । आइतबारदेखि मौसम क्रमशः सुधार हुने छ । न्यून चापीय वायुको प्रभाव भोलिरदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ । 

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि–मनसुन सक्रिय भएको बताए । 'आजसम्म मौसम बदली भइरहन्छ भने भोलिदेखि  सुधार हुनेछ,' उनले भने ।

भोलि देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।