चितवनको बालिका मृत्यु प्रकरण– अनुसन्धानमा प्रभाव पार्ने विषय सम्प्रेषण नगर्न प्रहरी आग्रह

२०८० फाल्गुण १९ शनिबार १८:५६:०० मा प्रकाशित


चितवन । चितवन प्रहरीले छात्रावासमा बालिका मृत फेला परेको घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेकाले अनुसन्धानलाई प्रभाव पार्ने विषयहरू सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न अनुरोध गरेको छ।


चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले घटनालाई लिएर सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्रीहरूप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अनुसन्धानलाई प्रभाव पार्न विषय सम्प्रेषण नगर्न भनेका हुन्।

प्रस्तुत घटनाको तथ्य परक बस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक संजाल तथा संचार माध्यमहरुमा संप्रेषित विषयबस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरु हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धान प्रभाव पार्नेगरी कुनै पनि विषयवस्तुहरु सम्प्रेषण नगरी दिनुहुन अनुरोध गरिएको छ, विज्ञप्तिमा भनिएको छ।

शनिबार डिएसपी भण्डारीले विज्ञप्ति जारी गरी घटनाको जानकारी प्राप्त हुनासाथ सिनियर प्रहरी अधिकृतको कमाण्डमा विशेषज्ञसहितको अनुसन्धान टोली घटनास्थलमा खटिएको र सुक्ष्म अवलोकन गरिएको जानकारी दिएका छन्।

अहिलेसम्म घटनाको प्रारम्भिक अनुसन्धान सकिएको र तथ्यपरक तथा वस्तुनिष्ठ अनुसन्धान जारी रहेको डिएसपी भण्डारीले जानकारी दिएका छन्।

साथै बालबालिकाको मृत्य जस्तो संवेदनशील विषयलाई गाम्भिर्यताका साथ लिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

घटनाबारे प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम नेपाल प्रहरीले आफ्नो पेशागत मुल्य मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान भईरहेको र बैज्ञानिक प्रयोग तथा प्राबिधिक विश्लेषण समेतको आधारमा तथ्य परक बस्तुनिष्ठ अनुसन्धान गरिने कुरामा प पीडित परिवार र सम्पूर्णमा विश्वास समेत दिलाउँदछौं, विज्ञप्तिमा भनिएको छ।

गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेल होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।  

घटनापछि प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।

बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।

सालिनका आफन्तले किटानी जाहेरी दिएपछि पक्राउ परेका तीनै जनाविरूद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले सात दिनको म्याद थप भएको छ।

यसैबीच सत्तारूढ दल नेपाली कांग्रेसले घटनाको निष्पक्ष र गहन अनुसन्धान गरी दोषीलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याउन माग गरेको छ।