भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रको ऐतिहासिक कदम : प्रधानमन्त्री प्रचण्ड

२०८० फाल्गुण १८ शुक्रबार १९:०५:०० मा प्रकाशित

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताउनुभएको छ । नारायणी किनारमा आज भएको भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री प्रचण्डले जंगलमा शिकार गरेको इतिहास बनाएको चितवनमा भ्रमण वर्ष ऐतिहासिक कदम हुने बताउनुभयो ।  ६ लेन रोड, विमानस्थल बिस्तारको कार्यक्रम, शिक्षा र स्वास्थ्यको हब बन्दै गरेको बताउनुभयो । २२ वटा पर्यटकीय गन्तव्य पहिचान गर्नु र सौराहादेखि माडीको सोमेश्वरदेखि, बागमती प्रदेशको होचो भूभागको ५० बढी गन्तव्यको प्रवद्र्धन गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभएको छ । 

पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

समारोहलाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताउनुभयो ।

यस्तै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भरतपुरलाई सुन्दर सहरको विकासका लागि व्यवस्थित बस्ती विकासमा काम गर्न सुझाब दिनुभएको छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले चितवनमा विकास र रुपान्तरणका प्रक्रियाहरु ऋगाडि बढ्दै गएको र यो महोत्सव साच्चिकै महत्वपूर्ण महोत्सवको रुपमा प्रमाणित भएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले मञ्चमा देखिएको शीर्ष नेताहरुको एकता देश रुपान्तरणमा पनि देखिनुपर्ने बताउनुभएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल बागमती प्रदेश सम्भावना नै सम्भवना भएको प्रदेश रहेको बताउनुभएको छ । मुख्यमन्त्री जमकट्टेलले चितवनदेखि दोलखासम्म ग्रामीण पर्यटनको सम्भावना रहेको बताउनुभएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा नवलपुर, चितवन, बीरगञ्ज लगायतका स्थानीय तहका नगरप्रमुखहरुको उपस्थिति रहेको थियो । हजारौँ भरतपुरबासीको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा भरतपुरका सबैवडाबाट विभिन्न जातजातिहरुसहितको झाँकी, कला संस्कृतिको प्रस्तुतीरहेको थियो ।