गैँडाकोट १ मा नौमती बाजा सिकाइ तथा प्रशिक्षण तालिम शुरु 

२०८० फाल्गुण १७ बिहीबार १५:४०:०० मा प्रकाशित

गैँडाकोट । मौलाकाली दलित एकता समाजले महिलाहरुलाई नौमती बाजा सिकाइ तथा प्रशिक्षण तालिम शुरु गरेको छ ।  
बुधबारदेखि शुरु भएको तालिम १५ दिनसम्म चल्ने मौलाकाली दलित एकता समाजका अध्यक्ष विरबहादुर विकले जानकारी दिनुभयो । नौमती बाजा सिकाई तथा प्रशिक्षण तालिमका लागि गैँडाकोट १ ले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो । नौमती बाजा सिकाइ तथा प्रशिक्षण तालिममा २० जनाको सहभागिता रहेको उहाँले बताउनुभयो । नौमती बाजा सिकाइ तथा प्रशिक्षण तालिमले संस्कृतिको संरक्षणसँगै महिलाहरुलाई सीप पनि हुने उहाँको भनाई छ । 
तालिमको उद्घाटन गर्दै गैँडाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले महिलाहरुलाइ हरेक कुरामा अगाडी बढाउनका लागि सिकाई तथा प्रशिक्षणका तालिमहरु आवश्यक रहेको बताउनुभयो । सीप सिक्दा महिलाहरु आत्मनिर्भर हुने उहाँको भनाई थियो  । 
कार्यक्रममा गैँडाकोट १ र २ का जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।