रेडक्रस भवनलाई गैँडाकोट २ को आधारभूत स्वास्थ्य केन्द्र बनाउन प्रस्ताव 

२०८० माघ २७ शनिबार १७:४५:०० मा प्रकाशित


गैँडाकोट । एसपिएम कलेज नजिक रहेको नेपाल रेडक्रस सोसाइटी आदर्श उपशाखा गैँडाकोटको भवनलाई गैँडाकोट २ को आधारभूत स्वास्थ्य केन्द्रको रुपमा प्रस्ताव गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी आदर्श उपशाखा गैँडाकोटको २१ औँ साधारण सभामा बोल्दै गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटाले वडामा स्वास्थ्य संस्था नभएका कारण आधारभूत स्वास्थ्य केन्द्रको कार्यालय र सेवा पनि रहने गरी विकास गर्ने प्रस्ताव कार्यपालिका बैठकमा राखेको जानकारी गराउनुभएको थियो । 

सापकोटाले उपशाखाका लागि एम्बुलेन्स र भवन निर्माणका लागि वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । 

साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रेडक्रसका सचिव विष्णुप्रसाद शर्माले आगामी दिनमा रेडक्रसको माथिल्लो भवन बनाउने, स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गर्ने बताउनुभयो । 

त्यस्तै आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष माधवप्रसाद सिग्देलले संस्थामा हाल २ लाख २३ हजार नगद मौज्दात रहेको जानकारी दिनुभयो । ९६ हजार ९ सय ९७ रुपैयाँ खर्च रहेको संस्थामा हाल २ लाख ८७ हजार अम्दानी रहेको उहाँको भनाई छ ।

नेपाल रेडक्रस सोसाइटी आदर्श उपशाखा गैँडाकोटका सभापति उमाकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, पूर्व उपसभापति भरत रेग्मी, लेखा समिति संयोजक  माधवप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।