निःशुल्क आँखा शिविरमा ४०१ जनाको आँखा परीक्षण

२०८० माघ २४ बुधबार १७:२२:०० मा प्रकाशित

 गैँडाकोट ।  गैँडाकोट नगर अस्पतालमा भएको निःशुल्क आँखा शिविरमा ४०१ जनाले आँखा परीक्षण गराएका छन् । 

स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना एवं भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा गैँडाकोट नगर अस्पतालमा निःशुल्क आँखा शिविर सम्पन्न भएका हो । 

शिविरमा १५ जनामा मोतीविन्दुको समस्या देखिएको स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिव पौडेलले जानकारी दिनुभयो । 
शिविरको गैँडाकोट नगर उप प्रमुख शान्ति कोइरालाले उद्घाटन गर्नुुभएको हो । उहाँले भूपू सैनिकको कामप्रति गर्व महशुस गर्दै पछिल्लो समय सहकारीप्रति मानिसले नकारात्मक टिप्पणी गरिरहेको अवस्थामा स्वतन्त्र भूतपूर्व सैनिक सहकारीबाट धेरैले सकरात्मक पाठ सिक्न सक्ने बताउनुभयो ।  

स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भूपालसिंह छन्त्याल थापाले संस्था भूपू सैनिक परिवारको अलवा समुदायका अन्य नागरिकको हितका लागि पनि सचेत रहेको बताउँदै सामुदायिक विकासका काममा अग्रसर हुने बताउनुभयो । सहकारीले नाफालाई मात्र नहेरी समुदायको विकास र स्वस्थ समाजको परिकल्पना स्वरुप शिविरको आयोजना गरिएको बताउनुभयो । 

आँखा शिविरको आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्दै संस्थाका सचिव वेदबन्धु रेग्मीले सामुदायिक विकास कोषबाट खर्च हुने गरी शिविरको आयोजना गरिएको बताउनुभयो । शिविरमा निःशुल्क चस्मा र औषधी वितरण गर्नुका साथै निःशुल्क शल्यक्रियाका लागि सहजिकरण गर्ने उहाँले बताउनुभयो ।