सहमतिको अगुवाईमा सिमसार संरक्षणमा जुट्यो समुदाय

२०८० माघ १९ शुक्रबार १७:३३:०० मा प्रकाशित

गैँडाकोट । सहमति संस्थाको प्रयासमा पाँच महिना अघि पानी संरक्षण र भू–क्षय नियन्त्रणसँगै थालिएको संरक्षण कार्यले सार्थक रुप लिएपछि चितवन तथा नवलपुरका समुदायमा खुसीयाली छाएको छ । 

यसले सिंगो समुदायको जोखिम पनि कम भएको छ । पानी संरक्षण र भू–क्षय नियन्त्रणका कार्यले बस्ती जोगिने भएपछि सिमसार दिवसको अवसरमा स्थानीयले खुसी साटासाट गरेका छन् । चेतना प्रवाहका लागि नदी च्याम्पियन सक्रिय छन् । अहिले समुदायका व्यक्ति नै संरक्षण कार्यमा सरिक हुने गरेको सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो ।  

सहमतिले हुप्सेकोट ५ पाङ्ग्रेमा खानेपानीको मूहान संरक्षण तथा हुप्सेकोट ४ को शङ्खदेव हसौरा सामुदायिक वन र जोल्टेपोखरी सामुदायिक वनमा सिमसार एवं पानी पोखरी निर्माण कार्य सम्पन्न गरेको छ । इच्छाकामना गाउँपालिका ७ को सोमरी सामुदायिक वनमा संरक्षण पोखरी, सोही वनमा पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरङ प्रविधिमार्फत संरक्षण कार्य सम्पन्न गरेको छ । कालिका नगरपालिका १ को चतुर्मुखी सामुदायिक वनमा खगेरी खोलाको किनारमा जैविक बाँध निर्माण गरी जलाधार क्षेत्रको संरक्षण एवं भू–क्षय नियन्त्रण गरिएको छ ।  

  

नदी च्याम्पियनको सक्रियतामा शुक्रबार फोहरमैला ब्यबस्थापन, जनचेतनामूलक र्याली, अन्तरविद्यालय निबन्ध प्रतियोगिता र अन्तरक्रिया लगायतका कार्यक्रम गरी चितवन तथा नवलपुरमा सिमसार दिवस मनाइएको छ । नवलपुरको गुन्द्रही जलाधार क्षेत्रका कावासोती र हुप्सेकोट एवं चितवनका खगेरी जलाधारका इच्छाकामना र कालिका नगरपालिकामा विश्व सिमसार दिवसको अवसरमा कार्यक्रम भएका थिए ।  

सिमसार दिवसका अवसरमा शुक्रबार गुन्द्रही उपजलाधार क्षेत्र अन्तर्गत हुप्सेकोट ४ मा सामुदायिक वन, विद्यार्थी र समुदायका सरोकारवालाहरुको उपस्थितिमा जनचेतचनामूलक ¥याली निकालिएको थियो । सो अवसरमा केरुङखोला आसपासको क्षेत्रबाट ७ बोरा प्लाष्टिकजन्य फोहर संकलन गरी व्यवस्थापन गरिएको शङ्खदेव हसौरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दामोदर ढुङ्गानाले जानकारी दिनुभयो । 

त्यस्तै अन्तर विद्यालय निबन्ध प्रतियोगिता समेत सम्पन्न भएको छ । प्रतियोगितामा सरस्वती नमुना माविका ज्योती परियार प्रथम, बुद्ध इङ्गलिस बोर्डिङ स्कूलका कृषला बराल द्वितीय, जनकल्याण माविका गुनबहादुर थापा तृतीय र सरस्वती नमुना माविका पूजा विकले सान्तवना स्थान हासिल गरेका छन् । सो अवसरमा कावासोती ४ का वडाअध्यक्ष नारायणप्रसाद लोहनीले सहमति संस्थाको अगुवाइमा भएका संरक्षणका कार्यक्रमले यस क्षेत्रका नागरिक लाभन्वित भएको बताउनुभयो । 

यसअघि शुक्रबार नै बिहान लामीचौर मध्यवर्ती र अमलटारी मध्यवर्ती क्षेत्रको नारायणी तटको ७ किलोमिटर क्षेत्रबाट २० बोरा प्लाष्टिकजन्य फोहर संकलन गरी व्यवस्थापन गरिएको नेचर गाइड एशोसियसनका अध्यक्ष केशर प्रसाद चौधरीले जानकारी दिनुभयो । सो अवसरमा नदी च्याम्पियन युवाहरु, होटल एशोसियसन, नेपाल आर्मी, मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरु, चोरी शिकारी नियन्त्रणका लागि समुदायमा आधारित युवा जागरण अभियान्ताहरु लगायतको सहभागिता रहेको थियो । 

त्यसैगरी शुक्रबार नै बिहान चितवनमा खगेरी जलाधार क्षेत्रको कालिका नगरपालिकाको खगेरी पुलदेखी कमिनी घाटसम्म सरसफाइ गरिएको थियो । यहाँ १६ बोरा फोहर सङ्कलन गरिएको भीमवली सामुदायिक वनका अध्यक्ष जयचन्द्र चौधरीले जानकारी दिनुभयो । सरसफाईपछि आयोजित अन्तरक्रिया कार्यक्रममा सहमतिका उपाध्यक्ष नगेन्द्रप्रसाद रिजालले सिमसार मानव जीवनसँग जोडिएको बताउँदै पानीको स्रोतको संरक्षणमा जुट्न आग्रह गर्नुभएको थियो ।

     

शुक्रबार नै इच्छाकामना ७ सिमलढापमा समेत सरसफाइ गरिएको थियो । सिमसार संरक्षणमा जुट्न समुदायलाई आह्वान गर्दै रानीखोला माविका विद्यार्थीको सहभागितामा सचेतनामुलक र्याली निकालिएको रानीखोला सामुदायिक वनका अध्यक्ष राजकुमार रानामगरले बताउनुभयो । रानीखोला माविदेखी कालिका पिपलटारसम्म ¥याली निकालिएको थियो । 

सहमतिले डब्लुडब्लुएफ नेपालसँगको सहकार्यमा नवलपुरको गुन्द्रही र चितवनको खगेरी उपजलाधार क्षेत्रको माथिल्लो तटबाट संरक्षण कार्य प्रारम्भ गरेको सहमतिको ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ का संयोजक खेमराज खनालले जानकारी दिनुभयो ।