३१ फिट अग्लो मौलो सहितको शोभायात्रा, आज गैँडाकोटमा कहाँ कहाँ कुन समयमा हुनेछ ?

२०८० माघ १६ मंगलबार ०६:४५:०० मा प्रकाशित


गैँडाकोट । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित “अनन्तश्री ब्रह्माण्डीय महायज्ञ” को लागि गैँडाकोटमा तयारी तीव्र पारिएको छ । 

पवित्र मुक्तिक्षेत्र, शालग्रामवाहिनी कृष्णागण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृंखलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वर अनन्त श्री विभूषित श्री कमलनयनाचार्य स्वामिज्यूको सत्संकल्पमा महायज्ञ आयोजना गरिएको हो । आगामी फागून ९ देखि २३ गतेसम्म हुने यस महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुर्याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको जानकारी दिनुभयो ।

यस महायज्ञको ३१ फिट लामो मौलो सहितको शोभायात्रा आज गैँडाकोट नगरपालिकाका विभिन्न स्थानमा हुने स्वामी लक्ष्मणाचार्यले बताउनुभयो ।