शतबीज छर्न देवघाटमा हजारौं भक्तजन
देवघाट । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देवघाटमा शतबीज छर्न हजारौं भक्तजन आएका छन् । सोमबार हिन्दुहरुको पवित्र पर्व कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी विभिन्न मठ मन्दिरहरूमा शतबीज (शतबीउ) छरेर मनाईन्छ । तनहुँ, चितवन र नवलपुरको संगम तथा पवित्र कालिगन्डकी र त्रिशुली नदीको संगम एवं विभिन्न मठमन्दिर रहेको हुँदा देवघाटमा शतविज छर्न आईतबार साँझ नै टाढा टाढाबाट हजारौं भक्तजन आएका छन् ।
शनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।
देवघाटमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले देवघाट आएका छन् । भक्तजनहरु रातभर बत्ती बालेर जाग्राम बसी विहान शतबिज छर्ने गर्छन् ।
शतबिज छर्न आएका सर्वसाधरणको व्यवस्थापनको लागि देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले संयुक्तरुपमा व्यवस्थापनको कार्य गरेको छ । नदी किनारमा बत्ती जडान, सौचालयको निर्माण तथा ट्राफिक व्यवस्थापनको काम भईरहेको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले भक्तजनलाई कुनै असुविधा नहोस भनेर सुरक्षाकर्मीको व्यवस्थापन, सवारी साधनको व्यवस्थापनको काम गरिएको बताए । क्षेत्र विकास समितिले बेणी संगममा बिजुली बत्ती जडानको काम गरेको छ । भक्तजनको सुरक्षाकोलागि दमौली र चितवनबाट समेत प्रहरीहरु देवघाट झिकाईएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज कृष्णबहादुर बानियाले बताए ।
नेपालीमा शतको अर्थ सय र बीजको अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ ।
आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले मन्दिर वरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् ।
आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ । राति बालिएको बत्ती चतुर्दशीको बिहानै नदीमा सेलाए पछि शतबीज छर्छन् ।