जाजरकोट पुगेर गैँडाकोट नगरपालिकाले गर्यो भूकम्प प्रभावितलाई सहयोग

गैँडाकोट । जाजरकोट पुगेर गैँडाकोट नगरपालिकाले भूकम्प प्रभावितलाई सहयोग गरेको छ । जाजरकोटका भूकम्प प्रभावितले प्रत्यक्ष महशुस गर्ने गरि सहयोगका लागि जाजरकोटमा आएर सहयोग गरिएको गँैडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो ।
भूकम्प पिडितलाई राहत वितरण गर्न गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी पनि जाजरकोट पुग्नुभएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पीडितलाई राहत वितरण गर्न गएराति गैँडाकोटका नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष सहितको टोली जाजरकोट पुगेको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खनालले जानकारी दिनुभयो ।
नलगाड नगरपालिका वडा नम्बर १ को दलित बस्तीमा ४ लाख बराबारको न्यानो कपडा वितरण गरिएको छ । ६० घर परिवारलाई ओड्ने सिरक, ओछ्याउने डसना र एकसय जनालाई न्यानो कपडा वितरण गरिएको खनालले जानकारी दिनुभयो । नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतलाई गैँडाकोट नगरपालिकाको टोलीले राहत सामग्री हस्तान्तरण गरेको छ । कार्तिक २३ गते राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा केन्द्रविन्दू रहेको ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प मापन गरिएको थियो ।