गैंडाकोट । विजय परिवार विविधतायुक्त शक्तिको पुञ्ज भएको विजय परिवारका सदस्य संस्थाका प्रमुख एवं प्रतिनिधिले बताएका छन् । सामाजिक विकासमा क्रियाशिल विजय विकास स्रोत केन्द्रको विजय परिवार अन्तर्गतका ८ वटा संस्थाहरुबीच अनुभव, सिकाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बताएका हुन् । विजय परिवारप्रति समुदायको ठुलो आशा र अपेक्षा रहेकोले अबका कार्यक्रम सोही अनुरुप तय गर्नुपर्ने र त्यो विजय परिवारको दायित्व पनि हुन आउने बताएका थिए ।
चेतना सदनमा भएको कार्यक्रममा विजय परिवारका संयोजक, विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले संस्थागत सहकार्य र समन्वयका लागी सिकाइ महत्त्वपूर्ण भएकाले त्यस्का लागि सबै जुट्नु पर्ने बताउनुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै विजय विकास स्रोत केन्द्रका सचिव डा. भूमिराज चापागाईंले विजय परिवार विविधतायुक्त शक्तिको पुञ्ज भएको बताउँदै वित्तीय, सूचना, शिक्षा र विकास लगायतका क्षेत्रमा ठूलो योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा विजय विकास स्रोत केन्द्रका तर्फबाट कार्यकारी निर्देशक केशवप्रसाद सापकोटा, विकू बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेल, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था (विजय एफएम) का तर्फबाट स्टेशन म्यानेजर श्रीधर उपाध्याय, विजय सामुदायिक शिक्षा सहकारीका तर्फबाट अध्यक्ष खेमराज सापकोटा, विजयश्री उपभोक्ता सहकारी संस्थाका तर्फबाट सचिव गोविन्द रिमालले संस्थागत प्रस्तुतीमार्फत जानकारी गराउनुभएको थियो ।
विजय परिवारमा विजय विकास स्रोत केन्द्र, विकू बचत तथा ऋण सहकारी संस्था लि., विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. (विजय एफएम र विजय खबर पत्रिका), विजय सामुदायिक शिक्षा सहकारी संस्था लि.(विजय सामुदायिक शिक्षा सदन), विजय लघुवित्त वित्तीय संस्था लि., विजय कन्सल्टिङ प्रा.लि., विजयश्री उपभोक्ता सहकारी संस्था लि. र विजय फाउन्डेशन रहेका छन् ।