बालमैत्री असल संस्कार सिक्दै बालबालिका

२०८० भदौ ३० शनिबार १९:२१:०० मा प्रकाशित


गँैडाकोट १ मा रहेको श्रीवैष्णव युवा परिषदको कार्यालयमा शनिबार विहान साना बाबुनानी असल संस्कार सिक्दै थिए । श्रीमद्भगवद् वाचिका यशोदा आमाजी उनीहरुलाई असल संस्कार, नैतिक ज्ञान र भजनकिर्तन सिकाउँदै हुनुहुन्थ्यो । 
हरेक शनिबार उनीहरु विहान १० बजेदेखि १२ बजेसम्म यसैगरी यस स्थानमा उपस्थित हुन्छन् । उनीहरुले असल संस्कारका साथै जीवन जिउने कलाकज्ञानगुनका कुराहरु सुन्ने गर्दछन् । साना बाबुनानीका हातमा खैँजडी, मुजुरा र वाद्यवादनका सामग्री थिए । उनीहरुले वाद्यवादन बजाउन पनि अभ्यास गर्दै थिए ।  बालमैत्री असल संस्कार कक्षा राम्रो लागेको ७ वर्षिय बालिका अनुश्री पौडेलको भनाइ छ । 


अहिलेको सामाजिक परिवेशमा विकृति र विसंगति बढ्दै गएको अवस्थामा उनीहरूको आनीबानीमा परिवर्तन आइरहेको छ । उनीहरूलाई असल संस्कार सिकाउन सके उनीहरूको आनीबानीमा सकरात्मक परिवर्तन ल्याउन सकिने उद्देश्यले बालमैत्री असल संस्कार कक्षा सञ्चालन गर्न थालिएको श्रीवैष्णव परिषद् केन्द्रीय उपाध्यक्ष समेत रहनुभएकी श्रीमद्भगवद वाचिका यशोदा आमाजीले बताउनुभयो । 


बालमैत्री असल संस्कार कक्षा हरेक शनिबार विहान १० देखि १२ बजेसम्म सञ्चालन हुने गरेको छ । यस असल संस्कार कक्षा सबै बालबालिकाका लागि खुला रहेको श्रीवैष्णव परिषद् केन्द्रीय उपाध्यक्ष यशोदा आमाजीले बताउनुभयो । 


आगामी दिनमा  बालबालिकाको रुचि अनुसार प्रविधिको प्रयोग मार्फत असल संस्कारका कक्षा सञ्चालन गरिने, बालबालिकाको पठनसीप विकासका लागि बालकथाका पुस्तकहरु उपलब्धता गराइ अझ बढी बालसहभागिता बढाइने बताइएको छ ।