संरक्षणमा वेदनाको तीजी गीतका पोको, १४ समूहको घम्सा घम्सी

२०८० भदौ २७ बुधबार १६:२२:०० मा प्रकाशित

गैँडाकोट । 
हरेक हप्ता सरसफाइ, छैन केही  बाहना ।
सु–संस्कृत सभ्य समाज, हाम्रो चाहना ।। 

                   मानो रोपी मुरी फल्ने यो देशको माटोमा ।
                   जथाभावी फोहर नगरौँ बाटो–घाटोमा ।।

उक्त पङ्क्ति वे ग्रुपको तीजी गीतबाट लिइएका हुन् । तीजका बेला घर–घरमा जम्मा भएर रमाइला एवं वेदनाका गीत गाउने चलन पुरानो हो तर संरक्षणका कुरा भने विरलै हुने गरेका छन् । यसपटक भने गैँडाकोटमा जल, जमिन र जंगलको महत्त्व दर्शाउन चेतनामूलक तीज गीत प्रस्तुत हुँदैछ । त्यो पनि प्रतियोगितात्मक । संरक्षण र पर्यावरणका विषयमा पेचिला सन्देश सहितका प्रतियोगितामा गैँडाकोटका १४ संरक्षणमुखी संस्था/समूहबीच घम्सा–घम्सी हुँदैछ । 

उत्कृष्ट समूहले नगद २० हजार समेत पुरस्कार प्राप्त गर्नेछन् । द्वितीय हुनेले १५ हजार, तृतीय हुनेले १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।  
समुदायलाई नै सक्रियता गराउन गैँडाकोट स्थित सहमति संस्थाको आयोजनामा हुन लागेको बृहत तीज गीत प्रतियोगितामा विजय एफएम १०१.६, गैँडाकोटका सामुदायिक वन र खानेपानी संस्था गरी एक दर्जन बढी संस्थाले सहकार्य गरेका छन् । 

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले गीत तथा नाचका माध्यमबाट सूचना दिँदा मान्छेहरुले छिट्टै बुझ्ने भएकोले जल, जमिन र जंगलको संरक्षणसँगै सरसफाइ सम्बन्धी सचेतना फैलाउन तीज गीत प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । प्रकृतिको संरक्षण गर्नलाई उत्प्रेरित गर्न खानेपानी र सामुदायिक वनसँगको सहकार्यमा कार्यक्रम गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । 

प्रकृति संरक्षण तथा जैविक विविधताका लागि भदौ २९ गते शुक्रबार फेम्ली क्याफे गैँडाकोट ४ मा हुने ‘जल, जमिन, जंगलको संरक्षण : सफा र सुन्दर पर्यावरण’ विषयक तीज प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको सहमतिका उपाध्यक्ष नगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । 

तीजमा प्राय वेदनाका गीत प्रस्तुत गरिन्छन् । यसपटक भने गैँडाकोटमा अनुभवी व्यक्ति एवं संरक्षणमा नै खटिएका संरक्षणकर्मीहरुकै आवाजमा संरक्षणमुखी एवं सो सम्बन्धी वेदनाका तीजी गीत सुन्न पाइनेछ । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायीका बसन्ती थापाको बेजोड प्रस्तुती रहने सहमति संस्थाले जनाएको छ ।