तीजको रौनक : पिँढीबाट पार्टीप्यालेस 

२०८० भदौ २६ मंगलबार १६:५६:०० मा प्रकाशित


गैँडाकोट । एकदशक अघि प्रत्येक घरका पिँढीमा दिदीबहिनी भेला हुन्थे । सुखदुःखका गीत गाउँथे । रमाइलो गर्थे । गाउँघरमा रमाइलो छाउँथ्यो । पीडा र वेदनका गीत पनि गाउँथे । समाजका विकृति र विसंगति पनि गीत मार्फत गाउँथे । पर्व एउटा सकारात्मक परिवर्तनका लागि आवाज उठाउने पर्व जस्तो थियो । पिँढीमा हुने रमाइलो अहिले पार्टी प्यालेसमा सरेको छ । दुःखसुखका गीतबाट दिदीबहिनी हिन्दी गीतमा पुगिसकेका छन् । यो साँस्कृतिक विरासतको ओरालो यात्रा भएको कतिपयको धारणा छ । 

नेपाली महिलाहरुले तीज पर्वलाई पवित्र पर्वको रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र बिकृति बढ्दै गएको महिलाहरुले नै गुनासो गरेका छन् । तिजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलीकता हराउँदै गएको छ । 

तिज आउनु भन्दा एक महिना अगाडीबाटै दर खाने प्रचलन बढेको छ  । कुनै समय एउटा घरमा जम्मा भएर दर खाने दिदीबहिनीहरु आज भोलि होटल र पार्टी प्यालेसमा भेटिन्छन् । वेदनाका गीतमा नाच्ने महिलाहरु अहिले बजारमा आएका रत्यौली गीतमा रमाउँछन् । 

तिज नजिकिँदै गर्दा पहिलेपहिले गाउँघर, चौतारामा महिला दिदीबहिनीहरु दुःखसुखका गीत गाउँदै रमाउने गर्थे । आधुनिकतासँगै यो संस्कार पनि हराउन थालेको छ । जसका कारण आजभोलिको तिज खल्लो लाग्छ, गैँडाकोटकी रिता कंडेललाई । साँझ परेपछि पालैपालो छिमेकीको घरमा जम्मा भएर गीत गाउने गरेको सम्झना कंडेललाई अस्ति भर्खर जस्तै लाग्छ । तर हिजो आज यस्तो रमाइलो नपाउने गरेको उनको भनाई छ । उहाँ भन्नुहुन्छ “गीतलाई आधुनिकताले छपक्कै छोपेको छ । देखासिकी बढेको छ । तिज दुःख बिर्साउने होइन खर्च बढाउने चाड जस्तै बनेको छ । जो मलाई राम्रो लागेको छैन् ।”

स्पिकरमा बज्ने गीतले रमाइलो गराएपनि आनन्द भने दिँदैन भन्नुहुन्छ अर्का स्थानीय सरिता घिमिरे । विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको अनुभव छ । पछिल्लो समय यसमा आएको परिर्वतन घिमिरेलाई राम्रो लागेको छैन् । उहाँ भन्नुहुन्छ  “पहिलेका गीतमा नारी वेदना हुन्थ्यो, खाना सादा हुन्थ्यो, स्वस्थ हुन्थ्यो, रमाइलो र आनन्द त्यसमा पो थियो । अहिलेको तड्कभड्कमा के नै रमाइलो छ र । मात्र देखावटीपन छ ।” उनी भन्छिन् “पहिले खानामा गुन्द्रुक तामाको तरकारी हुन्थ्यो । अहिले त्यो स्वाद कहाँ हरायो ।” 

तीज नेपाली नारीको महान चाड हो । यसको अर्को बिषेशता हो नारी बेदना समेटेर गाइने गीत । पहिले पहिले तीज आएसगैँ गाउँघरका दिदी बहिनी एकैठाउँमा बसेर दुःख वेदनाका गीत गाउँथे । तर पछिल्लो समय यस्तो चलन कम हँुदै गएको छ ।

गैँडाकोट १४ का ६६ बर्षिया तेजीकला पाध्याय तीजको समयमा गाइने नारी वेदनाका गीत अझै पनि गुनगुनाउनुहुन्छ । पहिले पहिले दिदीबहिनी माइतिघरको पिँढीमा जम्मा भएर गाउने गीत उनको मनसपटलमा अझै ताजै छ । तर हिजोआज यस्तो गीत गाउन साथी भेट्नै मुस्किल पर्छ पाध्यायलाई । उनी भन्छिन् “अहिले वेदनाका गित गाउन खोजेपनि साथी भेटिदैनन् । सबै पार्टी प्यालेस र होटल जान्छन् । कसलाई रङ्ग यस्ता गीतकोे । मलाई त यो संस्कार नै हराउने हो की भन्ने पीर लाग्छ । ’

दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन हराउँदै गएकोमा नयाँ पिँढीका महिला पनि चिन्तित छन् । तर तिजको समयमा यसको मौलिकता बचाउन विभिन्न संघसंस्थाले राख्ने प्रतियोगिताले भने यसको संरक्षणमा थोरै भएपनि टेवा पु¥याएको गैँडाकोटका सरिता सापकोटाको भनाई छ । उहाँ भन्नुहुन्छ “प्रतियोगिता नै सही यसरी विभिन्न संघसंस्थाले राखेको कार्यक्रमले हराउन लागेको संस्कारलाई बचाउने काम गरेको छ ।” महिला दिदीबहिनीले आफनै भेषभुषामा सजिएर तीज पर्व मनाउन सके संस्कृतिको संरक्षण हुने विज्ञहरु बताउँछन् ।