देवचुली सहकारी सञ्जालको पुर्नगठन 

२०८० भदौ १६ शनिबार १७:३९:०० मा प्रकाशित

देवचुली । देवचुली नगरपालिकामा रहेको देवचुली सहकारी सञ्जालको भेलाले सञ्जालको पुर्नगठन गरेको छ । सञ्जालको अध्यक्षमा रेणुका बस्ताकोटी, सचिवमा रीमबहादुर आले, कोषाध्यक्षमा निर्मला कँडेल, सदस्यहरुमा धर्मा न्यौपाने, मीना सुवेदी, हरि काफ्ले, यमकला पाण्डे रहनुभएको छ । २ जना पछि थप गर्ने जनाइएको छ । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सचिव श्याम सुन्दर लामिछानेले पुर्नगठन हुने सहकारी सञ्जालले पालिका र जिल्लासँग पुलको काम गर्नुपर्ने र पालिका स्तरमा सहकारीमा सुशासनका लागि विभिन्न तालिम लगायत सदस्य शिक्षा कार्यक्रम अघि बढाउन सुझाव दिनुभयो । 

देवचुली नगरपालिकाका आर्थिक शाखा प्रमुख शिव सापकोटाले सञ्जालसँगको सहकार्यमा नगरमा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । 

कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य रत्नमाया विश्वकर्मा, जिल्ला सामाजिक उद्यमी महिला संघका अध्यक्ष धर्मा न्यौपाने, जिल्ला बचत तथा ऋण संघका सहसचिव नारायणप्रसाद पौडेल, सदस्य चन्द्रप्रसाद तिवारी लगायतको उपस्थिति रहेको थियो ।

सञ्जालका अध्यक्ष देवराज पौडेलको अध्यक्षतामा भएको भेलाको सहजिकरण सचिव सूर्यप्रसाद पोखरेलले गर्नुभएको थियो ।