मैले पार्टी सभापति भएर काम गर्ने यो अन्तिम पटक हो : शेरबहादुर देउवा

२०८० जेठ २० शनिबार १५:३३:०० मा प्रकाशित

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको बताउनु भएको छ । 

शनिवार आज नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै अब युवा पुस्ताकै पालो भएको बताउनु भयो ।

उहाँले आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आफूले सहयोग मात्रै गर्ने बताउनु भयो । साथै उहाँले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताउनुभएको छ । उहाँले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताउनु भयो ।

उहाँले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको दाबी गर्नुभयो । उहाँले पार्टी बलियो बनाउन नागरिकको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ । सधैँ हारेको नेविसङ्घ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ ।  गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन । गाली गरेर कहाँ पार्टी बन्छ । लडाइँ गर्ने हो रु अफ्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’

सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनउन सकिने बताउनु भयो ।